काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुननपर्ने बताएका छन् । कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताए ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन ।’

‘यसपटक म नभइ हुँदैन जस्तो लागेर प्रधानमन्त्री बनें’
यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको पनि उनले बताए । जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउँदै उनले भने, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ ।’
यस्तो गर्दा आफूलाई विचित्रको अनुभव भएको बताउँदै उनले भने, ‘मेरो मनस्थिति के मात्र हो भने देशभित्रको विसंगतिविरुद्ध लड्नको लागि म चाहिन्छ भन्ने कुरामा दृढ थिएँ र छु ।’
देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताए । सामान्य रुपमा सुधार हुने सम्भावना नभएको उनको भनाइ छ ।
गिरिजाको नामबाट विश्वविद्यालय स्थापना गर्ने आश्वासन
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग विताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको बताए । तर विगतमा गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए ।
आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे । ‘बरु मैले गल्ती गरें, उहाँले विल्कुल गर्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्तोको तस्तै पूरा गर्न सकिनँ । तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छोड्नु भएन ।’
उनले अगाडि भने, ‘मैले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्नुपर्थ्यो । तर मैले सकिनँ । मैले प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो ।’
अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाध आस्था र विश्वास भइराखेको उनले बताए ।
उनले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन समेत दिए ।



