सिरहासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो ।

सिरहा सहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्न पख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।

घर बाहिर निस्किनै मुस्किल

सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

बढे बिरामी 

गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्ध वृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।

चिसो पेय पदार्थको बिक्री बढ्यो

गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेय पदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले बजारका होटेल तथा चोक चोकमा चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!