काठमाडौँ । नेकपा माओवादी केन्द्रले ज्येष्ठ कम्युनिस्ट मञ्चदेखि विदेशबाट फर्किएका युवासम्मलाई सक्रिय बनाउने भएको छ । माओवादीको केन्द्रीय सल्लाहकार समितिको बैठकले ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय सल्लाहकार समिति र विदेशबाट फर्किएका युवालाई सङ्गठित गरेर सक्रिय बनाउने निर्णय गरेको हो ।

यस विषयमा थप योजना बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जेठ १६ गते  ज्येष्ठ कम्युनिस्ट र केन्द्रीय सल्लाहकार समितिको बैठक बोलाएको पार्टीका मुख्यसचिव श्रीराम ढकालले बताए । पार्टीमा निष्क्रिय भई बसेका पुराना नेता कार्यकर्तालाई सक्रिय बनाउन केन्द्र र प्रदेशका ज्येष्ठ र सल्लाहकारको संयुक्त बैठक बोलाइएको उनले बताए ।

तत्कालीन नेकपाले ज्येष्ठ कम्युनिस्ट मञ्च बनाए पनि खास्सै सक्रिय हुन पाएको थिएन । सर्वोच्चको फैसलापछि पनि माओवादीले दुवै सङ्गठनलाई सक्रिय बनाउन सकेको थिएन । अब केन्द्र र प्रदेशका ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिलाई सक्रिय बनाउने तयारी गरिएको हो । ‘हामीले ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समिति मात्रै होइन । पार्टीका सबै जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउन लागेका छौँ’ ढकालले भने, ‘पार्टीलाई एउटा गति दिने भन्ने छ । त्यसको सुरुवात ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार समितिबाट भयो ।’ पार्टीमा योगदान गरेका नेता कार्यकर्तालाई दुवै समितिमा राख्न सकिने ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!