
नागरिकता सम्बन्धमा अफवाह फैलाउने विरुद्ध मानहानी मुद्दा दायर गरिने
सिरहा । श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाका प्रध्यानाध्यापक मधुसुदन कर्णले आफ्नो वारेमा दोहोरो नागरिकता राखेको विषय सत्य नरहेको र भ्रम फैलाउने काम भएको बताएका छन् ।
चन्द्र माध्यमिक विद्यालयमा सोमवार पत्रकार सम्मेलन गर्दै प्रअ कर्णले आफूले एउटा मात्र नेपाली नागरिकता बोकेको दावी गरेका छन् । अलग अलग दुई वटा नेपाली नागरिकता राखेको कुरा सत्य नभएको र जिल्ला प्रशासन कार्यालयवाट एउटा मात्र नागरिकता लिएको बताएका छन् । यस्तै उनले आफूले भारतीय नागरिकता पनि नलिएको दाबी गरेका छन् । भारतमा आफन्त भएपनी आफूले नागरिकता नलिएको भन्दै प्रअ कर्णले योजनाबद्ध ढंगले जागिरको अन्तिम समयमा आफूलाई अपमानित गर्न अनेक हतकण्डा अपनाईरहेको बताएका छन् । कानूनी कुराको वकालत गर्ने मान्छे रहेको भन्दै उनले सार्वजनिक रुपमा आफ्नो व्यक्तिगत जीवनमाथी आक्षेप लगाउने गरि विना आफ्नो स्वीकृती लिई कागजात दुरुपयोग गरेकोले मानहानी मुद्दा दर्ता गर्ने बताएका छन् ।

आफूले भारतको कुनैपनी बुथमा गएर मतदान पनि न गरेको र कुनैपनी बैंकमा आफ्नो नाउँमा खाता नरहेको प्रअ कर्णले पत्रकार सम्मेलनमा जनाएका छन् । छानबिन गर्ने निकायले छानबिन गरेमा र आफूलाई दोषी देखाएमा सजाय भोग्न तयार रहेको भन्दै प्रअ कर्णले संचारमाध्यममा आफू विरुद्ध दुस्प्रचार भएको बताएका छन् ।
प्रअ कर्णले दोहोरो नेपाली नागरिकता र भारतीय नागरिकता पनि लिएको भन्दै केही संचारमाध्यममा समाचार प्रकाशित भएको थियो ।