
सिरहा । सिरहा सदरमुकाममा रहेको जिल्ला अदालतमा भवन अभाव भएको छ । एकातिर सिरहा नगरपालिकाले सडक फराकिलो गर्दा भवन भत्किने र अर्कोतिर इजलाश थपिदैजादा भवनको अभाव खड्किएको छ ।
मुख्य बजार १५/१५ मीटर फराकिलो गर्दा जिल्ला अदालतको आईटीकक्षसँगै प्रतिक्षालय, पार्किङ एरिया सडकमा परेको छ । यस्तै मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्ड अन्र्तगतको सडक फराकिलो गर्दा दुई वटा भवन भत्किने भएको छ । ७.५/७.५ मीटर गरी १५ मीटरको सडक विस्तार गर्ने गरी नगरपालिकालिको सूचना जारी गरिसकेको छ । मुख्य बजारतर्फ र कल्याणपुर–सिरहातर्फको सडक विस्तारको कारणले गर्दा भवन भत्किने भएपछि विकल्पको खोजीमा जिल्ला अदालत सिरहा रहेको छ ।

९ वटा इजलाश, इजलाश अधिकृतको शाखा, अधिकृतको शाखा लगायतको विभिन्न फाँटहरुको अलगअलग कक्ष आवश्यक हुँदा अहिले जेनतेन चलेको जिल्ला अदालतले जग्गा खोजीमा चासो दिएको छ । अदालतले करिब दुई विग्हा क्षेत्रफलमा व्यवस्थित भवन निर्माण गर्ने योजना अनुसार जग्गाको खोजिमा लागेको छ ।
नगरपालिकालाई जग्गा उपलब्ध गराउन पत्र पठाएको र चाँडै टुंगोमा पुग्ने विश्वास जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश भट्टराईले व्यक्त गरेका छन् । नगरपालिकासँग निरन्तर छलफल भईरहेको र अदालतलाई आवश्यक पर्ने जग्गा बन्दोवस्ती हुनेमा ढुक्क भएको श्रेस्तेदार भट्टराईले बताएका छन् । चाँडै नै एक इजलाश थप हुँदै १० वटा ईजलाश मार्फत सेवा दिईने उनले बताए ।
यता सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले जिल्ला अदालतको भवन निर्माणको निम्ति जग्गाको व्यवस्थापनमा जुटेको बताएका छन् । सिरहा नगरपालिकाले अदालतलाई आवश्यक पर्ने जग्गाको चाँडै नै व्यवस्थापन हुनेगरी समन्वयकारी भूमिकामा जुटेको बताएका छन् । समय अनुसारको सुविधा सम्पन्न भवन अदालतलाई पनि आवश्यक भएको भन्ने आफूलाई जानकारी प्राप्त भएको भन्दै मेयर डा यादवले जिल्ला अदालतको निम्ति आवश्यक पर्ने जग्गावारे चाँडै टुंगोमा पुग्ने बताएका छन् ।
बजारमा चर्चा भएजस्तो सदरमुकामबाट अदालत अन्यत्र सार्न खोजेको विषय हल्ला मात्र भएको भन्दै मेयर यादवले जग्गाको विषय टुंगिएसँगै भवन निर्माणको प्रकृयामा अदालत अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् ।