
सिरहा । सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ । यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन् । सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको नगर प्रमुख डा. नविन कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ । विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ ।
सामुदायिक विद्यालयप्रति बढ्दै गइरहेको जनगुनासोलाई ध्यानमा राखेर स्थानीय तहका शिक्षा शाखाले अनुगमनको माध्यमबाट शिक्षण कार्यलाई प्रभावकारी बनाउन थालेपछि सिरहाको सामुदायिक विद्यालयमा भर्ना अभियानबाट सकारात्मक प्रभाव पर्ने सिरहा नगरपालिका शिक्षा शाखाका प्रमुखले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमा भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासहित विद्यालयलाई ब्यानर बनाएर दिनुका साथै विद्यालय क्षेत्रमा घरदैलो गरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिइने प्रतिबद्धता गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र वडास्तरीय जनप्रतिनिधिलाई समेत लिएर जान निर्देशन दिएका छौँ ।”

सिरहा नगरपालिका–११ स्थित श्री समाज सेवा आधारभूत विद्यालय मुसहरी टोलका प्रधानाध्यापक महेश कामती भन्नुहुन्छ, “विद्यालय भर्ना अभियान घरदैलोमा पुग्दा शिक्षकशिक्षिकाले बालबालिकालाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता गर्दा निजी बोर्डिङ (संस्थागत) स्कुलमा जाने विद्यार्थीलाई सामुदायिकमा भर्ना गराउन अभिभावक आइरहेका छन् । यस वर्ष समयमै पाठ्यपुस्तक वितरण भएपछि विद्यार्थी र अभिभावक दुवै खुसी भएका छन् ।”