काठमाडौं । जनमत पार्टीले बारा–२ मा आफ्नो उम्मेदवारबाहेक अरु सबै दलका उम्मेदवार ‘बाहिरिया’ भएको भन्दै प्रचारप्रसारलाई आक्रामक बनाउँदै गइरहेको छ ।
सीके राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारको सवालमा बारा क्षेत्र नम्बर २ कमजोर रहेको सबै दल र उम्मेदवारहरुले स्वीकार गरेकै विषय हो ।’

नेपालको संसदमा पहिलो बजेट पेस गर्ने अर्थमन्त्री सुवर्णशमशेर जवरा २०१५ सालमा बारा जिल्लाबाटै निर्वाचित भएको उल्लेख गर्दै सीके राउतले उनी निर्वाचित भए पनि बारा जिल्ला जस्ताको त्यस्तै रहेको उल्लेख गरेका छन् ।
२०५१ सालको मध्यावधि चुनावमा बारा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका राधेचन्द्र यादव निर्वाचित भए । उनी पनि बारा क्षेत्र नम्बर २ का नरहेको राउतले दाबी गरेका छन् । कांग्रेसले उनै बाहिरिया राधेन्द्र यादवलाई पुनः २०७० को निर्वाचनमा पनि बारा २ बाटै उम्मेदवार बनाएको र उनी निर्वाचित समेत भएको राउतले टिप्पणी गरेका छन् ।
२०७४ र २०७९ मा निर्वाचनमा जसपाले पनि बारा–२ मा बाहिरिया उम्मेदवार रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाएको र चुनावसमेत जिताएको उल्लेख गर्दै उनले बारा निर्वाचन क्षेत्र नम्बर २ मा आक्कलझुक्कल स्थानीय उम्मेदवार विजयी हुनुबाहेक पछिल्ला चारवटा निर्वाचनमा बाहिरिया उम्मेदवार नै विजयी भएको दाबी गरेका छन् ।
बाहिरका उम्मेदवारले बारा–२ बाट जितेर गएपछि शिक्षा, स्वास्थ्य, भौतिकपूर्वाधार लगायतमा काम नभएको दाबी गर्दै उनले अहिले पनि उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेल बाहिरिया रहेको र बाराका जनताले सही निर्णय गर्ने बेला आएको बताएका छन् ।
त्यसको जवाफ दिँदै लोसपाका नेता सन्तोष मेहताले आफ्नो फेसबुकमा बारा २ पनि नेपालमै रहेको र राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने, त्यस्तो कानुन÷नीति निर्माणमा भूमिका खेल्न सक्ने योग्य उम्मेदवारलाई छनोट गर्न बारावासीलाई आग्रह गरेका छन् ।
जति फराकिलो धर्तीका लागि लड्नु छ, त्यति नै फराकिलो धर्तीको पुत्र खोज्नुपर्ने बताउँदै उनले उम्मेदवार स्थानीय हुनुपर्छ भन्ने आवाज उठाउनेहरुलाई स्थानीय निर्वाचन लड्दा उपयुक्त हुने सुझाव दिएका छन् ।
प्रदेश सांसद कुनै पनि जिल्ला, निर्वाचन क्षेत्र वा वडाको भए पनि प्रदेश सांसदले प्रदेशभरिको कानुन, नीति बनाउने हो । संघीय सांसदले देशभर प्रभावित हुने कानुन र नीति बनाउने हो भन्दै उनले प्रदेश सांसदका लागि सम्बन्धित प्रदेश गृह प्रदेश हो भने संघीय सांसदका लागि पूरै देश नै गृह रहने उल्लेख गरेका छन् ।
त्यसरी नकारात्मक पोस्टर बनाएर जनमतले गरेको प्रचारलाई नेता मेहताले विरोध गरेका छन् । उनले त्यसलाई अराजनीतिक र अज्ञानको प्रवाह भनेर टिप्पणी गरेका छन् ।



