
जनकपुरधाम : उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।
केही दिनअघि गृह जिल्लाको बारामा महागढीमाईको पूजा दर्शन गरेर फर्किएका नवनिर्वाचित उपराष्ट्रपति यादव शनिबार जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजा अर्चना र दर्शन गरेका छन्।

बुद्व एयरको विमानबाट जनकपुरधाम आएका उपराष्ट्रपति यादव सिधै जनकपुरधामको जानकी मन्दिर पुगेर आज विशेष पूजाअर्चना, दर्शन अवलोकन र प्रसाद ग्रहण गरेका हुन्।
उपराष्ट्रपति यादव जानकी मन्दिरमा आइपुग्दा मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरूले स्वागत गरेका थिए।
उपराष्ट्रपति यादवलाई सहायक महन्त दासले मन्दिरका बारेमा संक्षिप्त रुपमा जानकारी समेत गराएका थिए। उपराष्ट्रपति यादव सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेला जानकी मन्दिरमा विशेष पूजा गरेका हुन्।
उनलाई जनकपुरधाम विमानस्थलमा स्वागत गर्न प्रदेश प्रमुख हरिशंकर मिश्र, जसपाका नेताहरू मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, पशुपति यादव, बलराम महतो, उर्मिला साहसहितको समूह पुगेको थियो।
फूलमाला, गुच्छा र गम्छासहित उनलाई विमानस्थलमा स्वागत गरिएको थियो। सो अवसरमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल अन्य सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।