काठमाडौं । नेपाल टेलिकमको मधेश प्रदेश कार्यालय परिसरमा वीरगञ्ज महानगरपालिकाले फोहोर फालिदिएको छ ।

मंगलबार बिहान सवा ९ बजे प्रादेशिक निर्देशनालय, मधेश प्रदेशको कार्यालय परिसरमा महानगरले ५-७ ट्र्याक्टर फोहोर फालेको हो ।

महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महानगरकाे बाइपास सडकखण्डमा टेलिकमले केबल भूमिगत गरेपछि सडक मर्मत नगरेको भन्दै दबाबस्वरुप फोहोर फालिएको बताए ।

”हामीले पटक-पटक टेलिकम कम्पनीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका थियौँ । पछिल्लो पटक फागुन मसान्तसम्म मर्मतको काम सक्ने भनियो, तर एक महिना बित्न लाग्दा पनि काम नभएपछि दबाबस्वरुप फोहोर फाल्न बाध्य भएका हौँ,” उनले भने ।

टेलिकम प्रशासन पुनः वार्तामा बस्न राजी भएपछि महानगरले फोहोर उठाएको उनले जानकारी दिए ।

यसैबीच आफ्नो प्रादेशिक निर्देशनालयमा फोहोर फालेको घटनाप्रति टेलिकमले खेद व्यक्त गरेको छ । ”महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानको विरुद्ध हुनेगरी भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ,” टेलिकमको विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय