वीरगञ्ज- आगामी वैशाख १० गते हुन गइरहेको उप-निर्वाचनमा बारा-२ मा मुख्य प्रतिस्पर्धा चारजना उम्मेदवारबीच हुने भएको छ।
चारैजना उम्मेदवारहरूमध्ये तीनजना उमेदवार गत मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा पराजित भएका थिए भने एक जनाले टिकट नै पाएका थिएनन्।

बारा-२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश खरेल उम्मेदवार छन्। यी तिनै जना उम्मेदवार मङ्सिर ४ मा पनि उठेर पराजित भएका थिए।
हारेका यी तीनैजनासँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषाेत्तम पौडेललाई मैदानमा उतारेको छ। उनले मङ्सिर ४ को निर्वाचनमा टिकट नै पाएका थिएनन्।
यिनै चार उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा वैशाख १० मा हुनेछ। जसपाबाट उम्मेदवार बनेका पार्टी अध्यक्ष उपेन्द्र यादव मङ्सिर ४ मा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसँग हारेका थिए।
राउतसँग यादव दोब्बरभन्दा बढी मतले हारेका थिए। राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९७९ मत मात्रै ल्याएका थिए। यादव यस क्षेत्रबाट जितेका रामसहाय यादवलाई उप-राष्ट्रपति बनाएर आफू फेरि चुनाव लडेर जित्दै संसदमा छिर्ने प्रयासमा बारा आइ पुगेका हुन्।
अर्का उम्मेदवार जनमत पार्टीका शिवचन्द्र कुशवाहा पनि मङ्सिर ४ मा यसै क्षेत्र बाट हारेका थिए। उनी हालका उपराष्ट्रपति रामसहाय यादवसँग झिनो मतान्तरले पराजित भएका थिए।
मङ्सिर ४ मा नेकपा माओवादी केन्द्रबाट उमेदवार बनेका कुशवाहाले यसपालि टिकट नपाएपछि जनमत पार्टीमा प्रवेश गरी चुनाव लड्न लागेका हुन्।
जनयुद्धकालदेखि नै माओवादीमा रहेका कुशवाहा २०६४ सालमा संविधानसभा सदस्य भएका थिए। उनी आफूले क्षेत्रमा जित्ने भन्दै टिकटको लागि पार्टीमा प्रयास गरे पनि माओवादीले गठबन्धनबाट उपेन्द्र यादवलाई सघाउने निर्णय गरेपछि कुशवाहाले पार्टी छाडेका हुन्।
यस्तै, बारा-२ मा रास्वपाले उम्मेदवार बनाएका रमेश खरेल पनि मङ्सिर ४ मा हारेका उम्मेदवार हुन्। उनी त्याे बेला काठमाडौँ- १ बाट आफ्नै नेतृत्वको पार्टी नेपाल सुशासन पार्टीबाट प्रतिस्पर्धामा थिए। उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए।
७ हजार १४३ मत ल्याएर कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा ३ हजार १२४ मत ल्याउँदै खरेल चौथोमा सीमित भएका थिए।
पूर्व डिआइजी खरेल पर्सामा एसपी हुँदा तस्करी रोक्न तथा विशेष गरी गाँजाखेती जिल्लाबाट बन्द नै गराइदिएका थिए। सोही बेलामा उनकाे मधेसका जिल्लामा चर्चा चलेकाे थियाे।
जागिरे जीवनको बेलामा मधेसमा कमाएको लोकप्रियतालाई खरेलले चुनावमा प्रयोग गरी चुनाव जित्न बारा-२ मा आइपुगेका छन्।
यो क्षेत्रमा यी तीनजनालाई टक्कर दिनका लागि एमालेले पुरुषाेत्तम पौडेललाई उम्मेदवार बनाएको छ।
पौडेल २०५१ सालमा संसद भएका थिए। २०७० सालमा भएकाे दाेस्राे संविधानसभा चुनावमा पनि उनी बारा-६ बाट विजयी भएका थिए। यसैगरी, उनी २०७० सालमा युवा तथा खेलकुदमन्त्रीसमेत बनेका थिए।
पहिले बारामा ६ वटा निर्वाचन क्षेत्र थियो। अहिले भने चारवटा छन्।
एमालेका पुराना नेता पौडेल मङ्सिर ४ मा भने टिकट नै पाएनन्। सो बेला टिकट नपाएका पौडेललाई भने बैशाख १० को लागि मौका दिएको छ।



