माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावनाविपरित आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको उनले बताए । उनले आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रहअनुसार जनमत पार्टीमा प्रवेश गरेको स्पष्ट पारे ।
‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चित गर्न खोजेको थियो, जनताको भावनापनि बञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावनाअनुरुप जनमत पार्टी रोजें,’– उनले भने ।
साथै, अहिलेको लडाई कुनै क्षेत्रको नभएर विचारको भएको उनको दाबी छ । उनले सबै सञ्चारकर्मीलाई यस लडाईमा साथ र सहयोग गर्नका लागि अपिलसमेत गरेका छन् । ‘यो लडाई कुनै क्षेत्रको होइन, विचारको लडाई हो । उपेन्द्रजी जुन विचार लिएर बारा–२ का जनताको भावनाविपरित आउनुभएको छ । जनताले उहाँलाई हराएर पठाउँछन् । हामी हराउँछौं,’–उनले भने ।
सो कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरुको उद्वारका लागि बनेकोे दाबी गरेका छन् । माओवादीका कारण कुशवाहा पटक–पटक अन्याय र बहिष्करणमा परेको उनको भनाई छ । जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले स्मरण गराए ।
कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ । ‘षड्यन्त्र गरेर कसैलाई चोर बाटोबाट संसद्मा पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’– उनले भने ।
सिट खाली भएर संसद्मा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै, निर्वाचन आयोगका प्रमुख आयुक्तले महिलाबाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनको आरोप छ । उनले बारा–२ मा उपेन्द्र यादवलाई त्यहाँका जनताले बहिस्कार गर्ने दाबी गरे। कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनले बताए । लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ ।










