गुड फ्राइडे सिनेमा

पछिल्लो समय दक्षिण भारतीय फिल्महरू लोकप्रिय भइरहेका छन्। मूल रूपमा तमिल, तेलेगु, कन्नड भाषामा बनेका फिल्मले हिन्दी भाषी फिल्मलाई निकै पछाडि छाडिदिए। ‘पुष्पाः द राइज’, ‘आरआरआर,’ ‘केजिएफ २’ यसका उदाहरण हुन्।

धेरैले अब दक्षिण भारतीय सिनेमाले नै बक्सअफिसमा तहल्का मच्चाउने बताइरहेका छन्। कमाइका मामिलामा कुन फिल्मले बाजी मार्छन्, यो कुरा त आउने नयाँ फिल्मका व्यापारले देखाउनेछ।

आज गुड फ्राइडे सिनेमामा चाहिँ हामीले पहिल्यै बक्सअफिसमा धूम मच्चाइसकेको दक्षिण भारतीय फिल्म सिफारिस गरेका छौं- लुसिफर।

नाम सुनेर नझुक्किनुहोला, यो नेटफ्लिक्सको अंग्रेजी वेबसिरिज होइन। चर्चित अभिनेता मोहनलालको फिल्म हो जसले मलयालम भाषामा हालसम्मकै सबभन्दा धेरै कमाइ गरेको छ।

दक्षिण भारतीय फिल्म हेर्नुहुन्छ भने मोहनलाललाई नचिन्ने कमै हुनुहुन्छ। अजय देवगनको ‘दृश्यम’ हेर्नुभएको छ भने थाहा पाइराख्नुहोस्, यो मोहनलालकै मलयालम भाषामा बनेको ‘दृश्यम’ को रिमेक हो। त्यस्तै बलिउड फिल्म ‘कम्पनी’ मा पुलिस कमिसनरको भूमिकामा प्रभावशाली छाप छोड्न सफल अभिनेता मोहनलाल नै हुन्।

तमिल, तेलेगु, हिन्दी, मलयालम फिल्ममा जमेका मोहनलालको ‘लुसिफर’ सन् २०१९ मा रिलिज भएको हो। फिल्ममा मोहनलालसँगै विवेक ओवराय, मन्जु वारियर र टोभिनो थोमसको मुख्य भूमिका छ। फिल्मले विभिन्न विधामा गरेर १८ वटाभन्दा बढी अवार्ड जितेको छ।

करिब ३० करोड भारूमा बनेको यसले अहिलेसम्म १ सय ७५ करोड भारूभन्दा बढी कमाइसकेको छ। मलयालम फिल्मको इतिहासमा यो सबभन्दा धेरै कमाइ हो। यसले रिलिजको ८ दिनमै सबभन्दा कम समयमा सय करोड भारू कमाउने मलयालम फिल्मको रेकर्ड पनि बनाएको छ।

यो फिल्मको तमिल रिमेक पनि बन्ने चर्चा छ। ‘गड फादर’ नाममा रिमेक हुन लागेको यो फिल्ममा अभिनेता चिरञ्जिवी र सलमान खानको भूमिका रहने बताइएको छ। सलमानका लागि यो तमिल सिने उद्योगमा डेब्यु हो।

‘लुसिफर’ एक्सन थ्रिलर फिल्म हो जसको कथाको केन्द्रविन्दुमा राजनीति छ।

राजनीतिको कुर्सीमा हुने खिचातानीमा माफियाहरूले कसरी खेल्न पाउँछन् भन्ने कुरा यसमा देखाइएको छ। त्यस्तै राजनीतिज्ञहरूले आफ्नो हातमा सत्ता पार्न अन्तर्राष्ट्रिय गिरोह र उनीहरूको पैसा कसरी प्रयोग गर्छन् भन्ने पनि यसको कथा हो।

पैसा, शक्ति र सत्ताका लागि माफिया-राजनीतिको गठबन्धनले देशलाई नकारात्मक प्रभाव पार्छ। यो फिल्मले यही गठबन्धनबाट सिर्जना हुने राजनीतिक द्वन्द्व चित्रण गरेको छ।

फिल्ममा केरलाका बहालवाला मुख्यमन्त्रीको निधनपछि उनको कुर्सीमा को बस्ने भनेर दुई राजनीतिक समूहबीच विवाद सुरू हुन्छ। सत्ता हत्याउने दौडमा दुबै समूहले माफियाको भौतिक र आर्थिक मद्दत लिन्छन्। यसले देशको भविष्य बनाउने अभिभारा बोकेको राजनीतिमाथि आपराधिक गिरोहको बलियो प्रभाव कायम हुन्छ।

फिल्मको कथा काल्पनिक भए पनि हरेक विकासोन्मुख र कम विकसित देशहरूको राजनीतिक यथार्थ यही हो। नेपालकै सन्दर्भमा भन्दा यहाँ राजनीतिक नेताहरू सत्तासम्म पुग्न ठेकदार र व्यापारीहरूसँग गला जोड्छन्, उनीहरूको पैसा प्रयोग गर्छन् जसको मूल्य सिंगो देशले चुकाउनु पर्छ।

जब राजनीतिसँग माफिया वा व्यापारीको साँठगाँठ हुन्छ, तब देशमा कस्तो अवस्था आउन सक्छ भन्ने काल्पनिक दृश्य देखाउने फिल्म हो ‘लुसिफर’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय