खानेपानीबागलुङ

गलकोट । बागलुङको तमानखोला गाउँपालिका–६ को नर्जाखानीस्थित दुर्गम गाउँको विष्णु आधारभूत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन । एक सय ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए ।

विद्यालय नजिकैको सामुदायिक धारामा निर्भर हुनुपर्ने उनीहरुको बाध्यता थियो । तर अहिले विद्यालय परिसरभित्रै खानेपानी धारा बनेको छ । २०४६ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले आठ लाख रुपैयाँ खर्च गरेर विद्यालयमा शुद्ध खानेपानीको पहँच पुर्‍याएको हो । विद्यालयभन्दा एक हजार ८०० मिटरमाथिको खेतापानी मुहानबाट विद्यालयमा छुट्टै पाइपलाइन विस्तार गरी खानेपानी ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण छन्त्यालले बताए ।

‘विद्यालय परिसरमा खानेपानीको पहुँच थिएन, विद्यालय नजिकैको सामुदायिक धारामा खानेपानीको भर पर्नुपर्ने हुन्थ्यो,’ छन्त्यालले भने, ‘पुनःनिर्माण प्राधिकरणले विद्यालयमै खानेपानी ल्याउने, ट्यांकी निर्माण गर्ने र शुद्धीकरणका लागि यूरोगार्डसमेत जडान गरेको छ, यसले विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्थापन भएको छ ।’ उक्त विद्यालयमा चार कोठे भवनसमेत पुनःनिर्माण भइसकेको छ ।

विद्यालय भवन र विद्यालयमा शौचालय निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले आर्थिक वर्ष २०७६÷७७ सालदेखि खानेपानीको अभाव झेलिरहेका विद्यालयमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन थालेको हो । कार्यालयले हालसम्म नर्जाखानीको विष्णु आधारभूत विद्यालय जस्तै जिल्लाका ३१ विद्यालयका झण्डै १३ हजार विद्यार्थीका लागि शुद्ध खानेपानीको व्यवस्थापन गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा शुरु भएका ३१ विद्यालयमा सञ्चालित खानेपानी आयोजनामा ३० विद्यालयमा सम्पन्न भइसकेको र नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न हुन बाँकी रहेको राष्ट्रिय एकाइ प्रमुख मोतीलाल चपाईंले जानकारी दिए ।

‘जिल्लाका ३१ विद्यालयमा सञ्चालित खानेपानी योजनाको काम सकिएको छ, झण्डै १३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा पुगेका छन्,’ चपाईंले भने, ‘कतिपय विद्यालयमा खानेपानी मर्मत, ट्यांकी र युरोगार्ड राखिएको छ भने कतिपय विद्यालयमा नयाँ खानेपानी योजनाबाट पानीको व्यवस्था गरिएको छ ।’ ३१ विद्यालयमा शुद्धीकरणका लागि यूरोगार्ड जडान गरिएकाले सबै विद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध हुनेछ ।

कुनै विद्यालयमा पहिले नै खानेपानीको व्यवस्था भए पनि शुद्धीकरण र खानेपानी संकलन ट्यांकीको भने पर्याप्त व्यवस्थापन थिएन । प्रत्येक विद्यालयमा १२ हजार लिटरको भुइँ ट्यांकी, आवश्यकताअनुसार माथि तान्न्ने पम्पको व्यवस्था, शुद्धीकरण औजार र धारो निर्माण गरिएको छ । विद्यालयमा विद्यार्थीको चाप संख्याको आधारमा यूरोगार्ड जडान गरिएको छ ।

एक लाखदेखि चार लाखसम्मको यूरोगार्ड मात्रै जडान गरिएको छ । विद्यार्थी संख्याको आधारमा ३१ विद्यालयमा चार लाखदेखि आठ लाख ५० हजार रुपैयाँसम्मको बजेट विनियोजन गरेर शुद्ध खानेपानीको पहुँच पुर्‍याइएको हो । भइरहेको खानेपानी मर्मत, नयाँ खानेपानी आयोजना लगायतका काम सोही बजेटभित्रै समावेश गरिएको छ । समथर भागमा रहेका स्कुलमा पानी तान्ने पम्पसमेत जडान गरिएको शिक्षा एकाइका प्रमुख चपाईंले बताए ।

विद्यार्थीका लागि शुद्ध खानेपानी उपलबध गराउन उच्चस्तरीय इलेक्ट्रिक मेसिन यूरोगार्डद्वारा फिल्टर गरिएको खानेपानी विद्यालयमा वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!