सिरहा । सिरहा नगरपालिका–४ रमौलमा रहेको एक सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध हुनेगरी साप्ताहिक रुपमा दुुई दिन हाटबजार लाग्ने गरेको छ ।
माध्यमिक विद्यालय रमौलको परिसरमै हाटबजार लाग्ने हुँदा बालबालिकाको पठनपाठन नै प्रभावित हुने गरेको छ । अगामी चैत १७ गतेदेखि देशभर एसईई परीक्षाको तयारी भैरहेको छ । माध्यमिक विद्यालय रमौलमा पनि एसईई दिने १० भन्दा वढी विद्यार्थी रहेका छन् तर पठनपाठन अवरुद्ध हुुने हुँदा उनीहरुलाई आउँदै गरेको एसईईको चिन्ता थपिएको छ ।


प्रत्येक हप्ताको पहिलो आईतवार र वुधवार गरी दिई दिन हाट बजार विद्यालयको परिसरमै लगाउने गरिन्छ । जसले गर्दा बालबालिकालाई विद्यालयले त्यस दिन चाँडै घर पठाउने गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाले आफूहरुको नियमित र सातै घण्टी पठनपाठनको सुनिश्चितता गर्न माग गर्दै पटक पटक प्रध्यानाध्यापक, वडा अध्यक्ष लगायतको ध्यानाकर्षण गराएका छन् । तैपनि बालबालिकालको पठनपाठन अवरुद्ध गरी लाग्ने हाटबजार विद्यालय परिसरबाट सार्न सकेको छैन् ।
माध्यमिक विद्यालय रमौलका प्रध्यनाध्यापक राजदेव यादवले सातामा दुुई दिन लाग्ने हाटबजार वापत वार्षिक रुपमा विद्यालयले एक लाख रुपैयाँ पाउने गरेको बताएका छन् । हाटबजार लाग्दा बालबालिकालको पठनपाठन प्रभावित भईरहेको स्वीकार गर्दै प्रअ यादवले विद्यालय परिसरबाट बाहिर सार्ने विषयमा स्थानीयसँग छलफल भएको बताएका छन् ।
यता वडा अध्यक्ष मोहम्मद शमसाद आलमले विद्यालयमा हाटबजार लगाएर बालबालिकाको शैक्षिक वातावरण विथोल्ने कार्य अनुुचित भएको बताएका छन् । आफू विद्यार्थीहरुको पक्षमा रहेको र शैक्षिक क्षेत्रमा कुनैपनि प्रकारको विसंगति, अप्ठ्याराहरु नहुनुु पर्ने भन्दै वडा अध्यक्ष शमसादले विद्यालय परिसरमा हाटबजार हुन नदिन आफूले समन्वय गरिरहेको बताएका छन् । ‘यसमा समाजका सवैले विशेष ध्यान दिनुपर्छ,’ वडा अध्यक्ष शमसादले भने,‘विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन्नुपर्छ । यो गम्भीर विषय हो । विद्यालयले पनि विद्यालय क्षेत्रमा कुनैपनि शैक्षिक अवरुद्ध हुने काम गर्न दिनु हुँदैन् ।’
बालबालिकाको अतिरिक्त क्रियाक्लाप गराउने गरी विद्यालय परिसरको सदुपयोग गुर्नपर्ने स्थानीय अगुवाहरुको भनाई छ । ‘विद्यालय शान्ति क्षेत्र हो,’ स्थानीय युवा नदिमले भने,‘त्यहाँ कुनै पनि प्रकारले बालबालिकाको पठनपाठन अवरुद्ध हुने काम गर्नु हुँदैन् । सवैले मिलेर शैक्षिक विकासमा जोड दिनुपर्छ ।’
विद्यालयमा लाग्ने गरेको हाट बजार तत्काल हटाउन त्यहाँ अध्ययनरत बालबालिकाले आवाज उठाउँदै आएकोले पनि त्यसतर्फ सरोकारवाला सवैले ध्यान दिनुपर्छ ।



