सिरहा सदरमुकामस्थित लोक आस्था, संस्कृति र इतिहाससँग गाँसिएको सलहेश दरबार क्षेत्र धार्मिक तथा पर्यटकीय महत्वको स्थल हो । यो स्थल मधेशको पहिचान बोकेको एक महत्वपूर्ण सम्पदा पनि हो । यस्ता ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, सौन्दर्यीकरण र पूर्वाधार विकास राज्यको प्रमुख दायित्वमा पर्छ । सलहेश दरबार मुख्यद्वार तथा आसपास क्षेत्रमा आरसीसी सडक र नाला निर्माण कार्य सुरु भएको छ । तर विकासको नाममा गुणस्तरहीन निर्माण हुनु भने कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । १ करोड ३३ लाख १७ हजार ४२८ रुपैयाँको लागतमा निर्माणाधीन उक्त योजनामा सुरुवाती चरणमै कमसल काम भइरहेको भन्दै स्थानीयवासीले विरोध जनाउनु गम्भीर विषय हो । जनप्रतिनिधि, प्राविधिक निकाय र निर्माण कम्पनी सबैले यस घटनालाई सामान्य रूपमा लिनु हुँदैन । विकास निर्माणमा स्थानीय समुदायको चासो र निगरानी लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष हो । स्थानीयवासीले उठाएको प्रश्नमा निष्पक्ष छानबिन हुन आवश्यक छ ।

निर्माण कम्पनीले सम्झौता अनुसारको मापदण्ड, गुणस्तर र प्राविधिक निर्देशिका पालना गर्नुपर्छ । ऐतिहासिक क्षेत्रको मुख्य प्रवेश मार्ग र परिसरमा निर्माण हुने सडक तथा नाला छोटो समयको लागि मात्र होईन, आगामी दशकौंसम्म उपयोगी हुने गरी बनाइनुपर्छ । निर्माण सम्पन्न हुनुअघि नै गुणस्तरमाथि प्रश्न उठ्नु सम्बन्धित पक्षहरूको जिम्मेवारीप्रति उदासीनताको संकेत हुन सक्छ । नेपालमा विकास निर्माणका धेरै आयोजना निर्माण सम्पन्न भएको केही समयमै भत्किने, चर्किने वा प्रयोगयोग्य नरहने उदाहरण प्रशस्त छन् । यसको मुख्य कारण निर्माण सामग्रीको गुणस्तरमा लापरवाही, प्राविधिक मापदण्डको उल्लंघन तथा प्रभावकारी अनुगमनको अभाव हो । सलहेश दरबार परिसरमा पनि यस्तै प्रवृत्ति दोहोरिन दिनु हुँदैन । सार्वजनिक धनको दुरुपयोग मात्र होइन, यसले ऐतिहासिक क्षेत्रको गरिमा र सौन्दर्यलाई समेत क्षति पु¥याउन सक्छ ।

सिरहा नगरपालिका यस आयोजनाको प्रमुख जिम्मेवार निकाय भएकाले उसले तत्काल निर्माणस्थलको स्थलगत निरीक्षण गर्नुपर्छ । प्राविधिक टोलीले प्रयोग भएका सामग्री, निर्माण प्रक्रिया तथा कार्यको गुणस्तरको परीक्षण गरी वास्तविक अवस्था सार्वजनिक गर्न आवश्यक छ । यदि निर्माण कम्पनीबाट कमजोरी भएको पुष्टि हुन्छ भने सुधारका लागि स्पष्ट निर्देशन दिनुका साथै आवश्यक परे कानुनी कारबाहीको प्रक्रिया पनि अघि बढाउनुपर्छ । विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन अपरिहार्य हुन्छ । जनताको करबाट सञ्चालित योजनामा जनताकै विश्वास कायम राख्न पनि गुणस्तरीय काम हुनुपर्छ । सलहेश दरबार परिसरको निर्माण कार्य दिगो, सुरक्षित र मापदण्ड अनुसार सम्पन्न गरिनुपर्छ । त्यसैले सलहेश दरबार जस्तो ऐतिहासिक तथा आस्थाको केन्द्रमा हुने विकास निर्माण समान्य योजना होइन । यहाँ हुने प्रत्येक कामले यस क्षेत्रको छवि, पर्यटन सम्भावना र सांस्कृतिक महत्वसँग प्रत्यक्ष सम्बन्ध राख्छ । त्यसैले निर्माण कम्पनी, नगरपालिका र प्राविधिक निकाय सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता देखाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय