एक समय एउटा नारा खुब चलेको थियो । ‘हरियो वन, नेपालको धन’ । अहिले हरियो वन नेपालको धन भन्दा पनि व्यक्तिको धनमा सिमित बेनेका छ । हरियो वनको तिव्र दोहन भईरहेको छ । विकासको नारालाई आत्मसाथ गर्दै पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा चुरेसँगै रहेको चारकोसे झाडीमा लुट मच्याईदै सकाईएको छ । त्यसपछि मध्यपहाडी राजमार्गको नाउँमा महाभारत पर्वतखण्डका वनजंगल तिव्र कटान भएको छ । यससँगै ठूलाठूला आयोजनाको निर्माण गर्दा सवैभन्दा वढी क्षति वनजंगलमा परेको छ । विकास आयोजनाको नाउँमा वनमा एकातिर तिव्र क्षति भईरहँदा अर्कोतिर विभिन्न वहानामा तस्करहरुको नजर पनि वनमै परेको छ ।
वन क्षेत्र बढाउनु पर्ने ठाउँमा वनको रंक्षा गर्न खटिएका कर्मचारीकै मिलोमतोमा संगठित रुपमा महत्वपूर्ण प्रजातिका काठको कटान भईरहेको छ । जसको वेला वखत प्रहरीले काठ, रुख कटान गर्दा प्रयोग गर्ने औजार सहित काठ कटान र तस्करी गर्ने गिरोहलाई पनि पक्राउ गरेको तथ्यांकहरु छ । भर्खरै मात्र प्रहरीले साल प्रजातिको काठ बरामद गरेको छ । जुन तस्करीको निम्ति तयारी गरिएको थियो । यसरी घटनाक्रमलाई नियाल्दा वन क्षेत्रको रक्षा गर्नुपर्ने दायित्वका साथ खटिएका कर्मचारीले व्यक्तिगत रुपमा आर्थिक लाभ लिने गरी रुख कटानमा संलग्न हुन्छन् । प्रहरीले सूचना पाएपछि नियन्त्रणमा लिने बाहेक अन्य समयमा निर्वाध रुपमा रुख कटान र काठको तस्करी फस्टाउने गर्छ । जसमा वन कार्यालयको ईलाका स्तरका कर्मचारीसँगै डिभिजन वन कार्यालयका कर्मचारीसम्मको संलग्नता रह्ने गर्छ ।

अहिले मधेश प्रदेशका जिल्लाहरुमा पानीको सतह झन् मुनी पुग्दा खानेपानीेको चरम अभाव झेलिएको छ । चापाकल, इनार, पोखरीहरु सुक्न पुगेको छ । पानीको स्रोतको रक्षा गर्न रुख विरुवाको महत्वपूर्ण भूमिका हुन्छ । यसैले चुरेलाई संकटग्रस्त रुपमा हेरिदै चुरे संरक्षणको अभियान पनि चलिरहेको छ । जब चुरेलाई संरक्षण गर्न वनको आवश्यकता देखिएको समयमा वन कार्यालयका कर्मचारीको मिलोमतोमा भईरहेको रुख कटानलाई रोक्नुपर्छ । यसलाई गम्भीर रुपमा लिदै सरकारी संयन्त्र अगाडी बढ्नु पर्छ । काठको तस्करी गर्ने गिरोहलाई पहिचान गरी कारबाही गर्नुपर्छ । कार्यालयका कर्मचारीको संलग्नतालाई पनि अनुसंधान गरी कारबाही गरी वनलाई जोगाउनु पर्छ ।



