किसानतरकारी बालीतरकारी बालीमा नोक्सानधनुषा

धनुषा ।  अविरल वर्षाले धनुषामा धानबालीसँगै तरकारी बालीमा समेत क्षति भएको छ । हरियो तरकारी खेतीको केन्द्र मानिएको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानको सयौं बिघामा लगाइएको काउली, भान्टा, गोलभेडा, खुर्सानीलगायत मौसमी तरकारी खेतीमा वर्षाले क्षति भएको हो ।

विक्रीका लागि तयार रहेको काउली, उम्रिदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली वर्षाले नोक्सान भएको स्थानीय किसान सत्यनारायण महतोले बताए । एक बिघामा लगाइएको काउली बेच्ने समय भइसकेको अवस्थामा वर्षाले नष्ट भएको उनको भनाइ छ ।

वर्षाले तरकारी बाली नष्ट भएपछि बजारमा काउलीसहित हरियो तरकारीको मूल्यमा अत्याधिक वृद्धि भएको छ ।​ दिगम्बरपुरमा मात्र सय बिघाभन्दा बढी जग्गामा लगाइएको तरकारी बाली नष्ट हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको स्थानीय किसान बताउँछन् ।

तयार भइसकेको तरकारी बाली नोक्सान भएको अवस्थामा तत्काल नयाँ बिरुवा रोप्ने वातावरणसमेत नरहेको स्थानीय किसान कृष्ण महतोले बताए । बारी हिलाम्य भएका कारण अहिले कुनै पनि बाली लगाउने अवस्था नरहेको उनको भनाइ छ ।

दिगम्बरपुरकी गंगावती देवीले बारीमा लगाइएको तरकारी बाली नष्ट भएपछि लगानी डुब्नुका साथै वर्षदिनको कमाइ पनि खेर गएको सुनाइन् । काउली, भाण्टा, गोलभेडा, खुर्सानी गरी सबै नष्ट हुँदा अब घर खर्चको जोहो गर्न समेत समस्या भएको उनको भनाइ छ ।

यहाँका किसानले उत्पादन गरेको तरकारी ढल्केबर, बर्दिबास, जलेश्वर, महेन्द्रनगर र जनकपुरधाम, उदयपुर, कटारी, बर्दिबास, सिन्धुलीलगायतको बजारमा खपत हुने गरेको छ । धनुषाको मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका र गणेशमान चारनाथ नगरपालिकाका किसानले मुख्यरुपमा तरकारी उत्पादन गर्दै आएका छन् । यी क्षेत्रमा वर्षाले तरकारी बालीमा नोक्सान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय