सिरहा । सिरहाको माडरमा रहेको सिरहा भन्सार कार्यालयले लक्ष्यभन्दा करिब एक करोड ६२ लाख वढी राजश्व असुली गरेको छ ।
सिरहा भन्सार कार्यालय माडर, सिरहाले आर्थिक वर्ष २०७७/०७८ मा दिईएको लक्ष्यभन्दा १ करोड ६२ लाख ९८ हजार वढी राजश्व असुली गरेको हो । १९ करोड ३० लाख ९५ हजार राजश्व असुली गर्ने लक्ष्य रहेको सिरहा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिनसम्म २० करोड ९३ लाख ९३ हजार रुपैयाँ असुली गरेको छ । माघ देखि असार महिना सम्ममा लक्ष्य अनुसार राजश्व असुली गर्न नसकेपनि वर्षदिनको लक्ष्यभन्दा ८ प्रतिशत वढी राजश्व असुली भएको सिरहा भन्सार कार्यालय, माडर सिरहाका प्रमुख जगदीश कुमार पुर्वेले बताएकाछन् ।
क्वारेन्टाइन र विषदी परिक्षणको ल्याब सिरहामा नभएको र लकडाउनका कारण भन्सार लक्ष्य अनुसार असुली हुन नसकेको भन्दै कार्यालय प्रमुख पुर्वेले समग्रमा लक्ष्यभन्दा वढी नै राजश्व असुली गरिएको बताए । सिरहा भन्सार कार्यालयले कपडा, मोटरपार्टस, टायल्स, मार्वल, ग्रेनाइट र ताजा तरकारीवाट राजश्व असुली गरेको भन्दै कार्यालय प्रमुख पुर्वेले फाटफुट रुपमा दैनिक उपभोग्य, लत्ताकपडा र स्पेयर पार्टसवाट पनि राजश्व असुली भएको बताए ।
सिरहा भन्सार कार्यालयका अनुसार साउनमा २ करोड ६८ लाख ९० हजार, भदौमा २ करोड १९ लाख ३८ हजार, असोजमा ३ करोड २७ लाख ६० हजार, कात्र्तिकमा २ करोड १० लाख २२ हजार, मंसिरमा २ करोड ९८ लाख ८४ हजार, पुसमा २ करोड ४ लाख ९ हजार, माघमा १ करोड ३३ लाख २ हजार, फागुनमा ९४ लाख ८८ हजार, चैतमा १ करोड ३६ लाख ७१ हजार, वैशाखमा १ करोड ७६ लाख, जेठमा ३५ लाख ६४ हजार र असारमा ५७ लाख ५ हजार राजश्व असुली गरिएको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सिरहा भन्सार कार्यालयले लक्ष्य भन्दा ५ करोड ४९ लाख भन्दा बढी राजश्व असुली गरेको थियो । १० करोड ७८ लाख २४ हजार लक्ष्य रहेकोमा १५ करोड ४९ लाख ९० हजार राजश्व असुली गरेको थियो ।
त्यस्तै २०७६/०७७ मा सिरहा भन्सार कार्यालयले लक्ष्य भन्दा करिब २ करोड ५६ लाख भन्दा कम राजश्व असुली गरेको थियो । २० करोड ३० लाख ८ हजार लक्ष्य रहेकोमा १७ करोड ७३ लाख ४० हजार मात्र राजश्व असुली भएको प्रमुख पुर्वेले बताए ।