सबैको सीधा र रेडिमेड उत्तर वित्तीय प्रणालीमा तरलता अभाव हो भन्ने नै रहेको छ । तरलता अभाव र चुलिएको ब्याजदरले सर्वसाधारणको आकर्षण कम भएको यथार्थता नै हो । तर तरलता अभाव झन्डै एक वर्षदेखिको समस्या हो । यसआधारमा यो मात्र कारण नभएको भन्नेहरु पनि उत्तिकै छन् । यतिबेला नेप्से घट्नुको कारण स्वभाविक करेक्सन हो भन्नेहरु धेरै छन् । किन भने करिब १ महिनाको अवधिमा सूचक करिब ४ सय अंकले बढ्यो । यसरी बढेको बजार अहिले स्वभाविक करेक्सनमा गएको अनुमान गरिएको छ । अब यो करेक्सन चरण सकिएपछि नेप्से फेरि बाउन्स ब्याक हुनेछ ।

सेयर बजारका लागि यतिबेला माहोल धेरै हिसाबले सकारात्मक बन्दै गएको छ । २५ लाखसम्मको सेयर धितो कर्जामा जोखिभार घटाइनु, बैंकहरुले तत्काल ब्याजदर नबढाउने घोषणा गर्नु पनि बजारका लागि सकारात्मक पक्ष हुन् । यस्तै, लाभांशको सिजन सुरु भएको छ । कम्पनीहरुको औसत नाफा वृद्धि भएकाले लाभांश अनुपात पनि वृद्धि हुने देखिन्छ । यी परिदृश्यहरुमा सबल वित्तीय सूचक भएका कम्पनीहरुमा योजनाबद्ध र दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने सम्भावना रहने अनुभवीहरु बताउँछन् ।



