सिरहा । सिरहाका नयाँ एसपी (प्रहरी उपरीक्षक) अर्जुन प्रसाद तिमिल्सिना सिरहा आएको एक महिनामै अपराध र समाजिक अभियानमा जोड दिने गरी काम अगाडी बढाएको छ ।
सिरहाका तात्कालिन एसपी हिराबहादुर पाण्डे विवादित भएर रातारात कारबाहीको निम्ति प्रहरी प्रधान कार्यालय तानिएपछि नयाँ एसपीका रुपमा तिमिल्सिना आएका छन् । नयाँ एसपी तिमिल्सिनाले सिरहा आएसँगै हरेक क्षेत्रमा उपलब्धी हासिल गर्ने गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण र फरार रहेकालाई पक्राउ गर्ने अभियानमा जोड दिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको एक तथ्याकं अनुसार एसपी तिमिल्सिना आएसँगै प्रहरीबाट कार्य सम्पादनमा तिव्रता आएको देखिन्छ । विभिन्न प्रकृतिका मुद्दा दर्ता, फैसला कार्यान्वयनको क्रममा फरार रहेकालाई पक्राउ गर्ने, लागुऔषध कारोबारदेखि सेवनकर्तालाई पक्राउ गर्ने, अवैध रुपमा खोला दोहन गरी गिट्टी, ढुंगा, बालुवा निकाल्नेलाई कारबाही गर्ने, अवैध घरेलु मदिरा उत्पादन, तस्करी नियन्त्रण गर्न भन्सार छलीका समान बरामद गर्ने, अवैध रुपमा काटिएको काठ बरामद, महिला तथा बालबालिका केन्द्रको सेवा प्रवाह, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई जोड र ट्राफिक नियम उलंघन गर्नेलाई कारबाही गरेको तथ्यांक सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार ७२ वटा विभिन्न प्रकारका मुद्दा दर्ता गर्दै १९ वटा फर्छयौट गरेको छ । जस अन्र्तगत ७७ जना पुरुषलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको क्रममा ७ जनालाई पक्राउ गरेको छ । जस अन्र्तगत ६ वर्ष २३ दिन कैद, १ लाख पाँच हजार जरिवाना उसुल गर्न अदालतमा बुझाईएको छ ।

सिरहा प्रहरीले नयाँ एसपीका रुपमा तिमिल्सिना आएपछि लागुऔषध अपराध अन्र्तगत १७ वटा मुद्दा दर्ता गरेको छ । जस अन्र्तगत २७ जनालाई पक्राउ गरेको छ भने गाँजा ३१ किलो, डाईलेक्स डिसी ६४ बोतल, नाईट्राभेट ट्याब्लेट १ हजार ६९९ पिस, ब्राउन सुगर ४५ ग्राम ७२७ मिलिग्राम लगायतका विभिन्न नाउँका प्रतिबन्धित लागूऔषध बरामद गरेको छ ।
यस्तै प्रहरीले अवैध रुपमा गिट्टी, बालुवाहरु उत्खननमा संलग्न रहेको जेसिबी २, टिपर ३ र ट्याक्टर दुई वटा पक्राउ गरेको छ । त्यसवाट १ लाख २० हजार जरिवाना असुल गरिएको छ । अवैध घरेलु मदिरा नियन्त्रण अन्र्तगत १७० लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ । भारतवाट अवैध रुपमा नेपाल भित्र्याउने गरेको करिब ३४ लाख १३ हजार मूल्यको विभिन्न समान बरामद गरी सिरहा भन्सार कार्यालयमा बुझाएको छ । त्यससँगै अवैध रुपमा साखुको चिरान बरादम गरेको छ । १४.६६ क्युफिटका २३ र ७ फिटका ९ वटा फेन्टा बरामद गरेको छ ।
महिला बालबालिका ईकाइ अन्र्तगत ५१ वटा उजुरी दर्ता भएकोमा २९ वटामा मिलापत्र गरिएको जनाएको छ । यस्तै ३ हजार १९६ वटा सवारीलाई कारबाहीको दायरामा ल्याउँदै २५ लाख २९ हजार ५ सय रुपैयाँ जरिवाना असुल भएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए । जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा कार्यालय प्रमुखको विशेष भूमिका रहेकोले सफलता मिलेको प्रवक्ता डिएसपी बुढाथोकीले बताएका छन् ।
सिरहा जिल्लामा नागरिकलाई शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरी प्रमुख फेरिएसँगै विशेष जोडका साथ सक्रियता बढाएको छ । व्याप्त रहेको तस्करी, लागूऔषधका कारोबाले आजित बन्दै गएको सिरहा जिल्लामा प्रहरी प्रमुखका रुपमा तिमिल्सिना आएसँगै थप कडाई हुन थालेको छ । नयाँ एसपीले आफ्नो छवी धुमिल हुन नदिन जिल्लामा शान्ति सुरक्षा कायम गर्न र विभिन्न प्रकारको अपराधकर्मलाई न्यूनिकरण गर्न जोड दिनुपर्ने जानकारहरुको भनाई छ ।




