जनकपुरधाम । धनुषामा क्राइम ब्रान्चको व्यक्ति हुँ भन्दै झुक्याएर मोटरसाइकल चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ परेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१९ थुमौना बस्ने १९ वर्षीय टीका यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।

टीकाले आफू क्राइम ब्रान्चको व्यक्ति हुँ भन्दै मोटरसाइकलको ब्लूबुक निकाल्न लगाई हेरेर यो मोटरसाइकल चोरीको हो, यसलाई अनुसन्धान गर्न जिल्लामा चेकजाँचको लागि लग्नुपर्छ भन्दै झुक्याएर डर त्रास देखाई प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लूबुक लगेको जिल्ला प्रहरी कार्यालय स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अनुसन्धान टोलीले घटनामा संलग्न यादवलाई पक्राउ गरी चोरी भएको मोटरसाइकल र ब्लूबुकसँगै फेला पारी चोरी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।



