सिरहा । भारतबाट अवैध रुपमा करौडौं रुपैयाँको दैनिकजसो कारोबार भईरहेको छ । भारतमा संकलित नेपाली नोट तस्कर गिरोहले विभिन्न माध्यमबाट सिरहा सहित तराई जिल्ला कटाएर गन्त्वयसम्म पुर्याउने काम गर्दै आएका छन् । यस्तो कारोबार अवैध रुपमा निकै भईरहन्छ । जसमा स्थानीय प्रहरीदेखि जिल्ला तहका नेपाल प्रहरी, सशस्त्र प्रहरी अधिकृतहरुको सहभागिता रह्ने गर्छ । मासिक रकम असुली गर्ने सेटिङ मिलेपछि यो अवैध कारोबार विना रोकटोक चलिरहन्छ । जब सम्बन्धमा ‘लेनदेन’ को खटपट हुन्छ, तब मात्र यस्ता अवैध कारोबारमा लाग्नेहरु रकम सहित पक्राउ परिन्छ ।
यस्तै एक उदाहरण, हो सिरहामा स्रोत नखुलेको नेपाली रुपैयाँ सहित दुई जना शुक्रवार पक्राउ परेको घटना । सिरहा नगरपालिका–१७ माडर कालीचौकमा छिमेकी मुलुक भारतको जयनगरबाट सिरहा बजारतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको बीआर ७ सी ४२२४ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा स्रोत नखुलेको ४४ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी चौकी खिरौना सिरहाबाट प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादव र ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट प्रहरी नायव निरीक्षक अमित कुमार रायको संयुक्त टोलीले गोप्य सुचनाको आधारमा सो कारलाई चेकजाँच गरेपछी स्रोत नखुलेको रकम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द ईवा लिम्बुले बताएका छन् ।

चेकजाँचको क्रममा स्रोत नखुलेको रकम लुकाएर राखिएको कारका चालक सिरहा नगरपालिका–१७ माडर बजारका ५२ वर्षीय प्रेम कुमार यादव र सोही कारमा सवार सिरहा नगरपालिका–७ हेमनारायण चौकका ४२ वर्षीय संजय कुमार साहलाई पक्राउ गरिएको एसपी लिम्बुले बताएका छन् । कार चेकजाँच गर्दा कारको आगाडीको सिट मुनीको भागमा घर्रा जडान गरिएको र सो घर्रा भित्र कालो प्लास्टिकमा स्रोत नखुलेको ४४ लाख नेपाली रुपैयाँ लुकाएको अवस्थामा बरामद भएको एसपी लिम्बुले बताएका छन् ।
स्रोत नखुलेको रकम, पक्राउ गरिएका दुवैजना र कार थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय ईटहरी पर्ठाएको एसपी लिम्बुले बताए । सिरहामा हुण्डी कारोबारका रकम सीमावर्ती भारतीय बजारबाट ल्याएर अन्य बजारसम्म पुर्याउने गरिएको छ । स्रोतका अनुसार हुण्डी रकम कारोबार गर्नेहरुसँगको सेटिङ नमिल्दा मात्र प्रहरीले बरामद गर्ने गरेको छ । सेटिङ मिलेपछि हुण्डी कारोबार निर्वाध रुपमा चल्ने गरेको सिरहाका स्थानीय एक जना व्यवसायीका दावी छ । ‘यस्ता कारोबार गर्नेको सेटिङ मिल्यो भने सवै ठिक हुन्छ,’ उनले भने,‘सेटिङ नमिल्दा रकम बरामद गर्ने र कारोबारीमाथि दबाब बढाएर आफ्नो भाउँ बढाउने काम हुन्छ ।’
पक्राउ परेका यादव लामो समयदेखि माडरमा बसेर अवैध रुपमा नेपाली र भारतीय नोट ओसारपोसार जस्ता कार्यक्रमा संलग्न रहेको प्रहरी स्रोतको भनाई छ । भारतीय नम्बर प्लेटको गाडी राखेका उनले स्थानीय देखि जिल्ला तहका प्रहरीसँग मोटो रकममा सेटिङ मिलाएर अवैध कारोबार गर्दै आईरहेका थिए । सिमा क्षेत्रको गतिविधिमा निगरानी राख्दै आएका एक जानकार भने,‘प्रहरीसँगको सम्बन्धमा खटपट हुनु भनेको अवैध काम गर्नेलाई घाटा लाग्नु हो । अन्यथा यस्ता काम दैनिकजसो भईरहन्छ ।’



