काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनोट गर्न निर्देशिका बनाएको छ ।
शुक्रबार ललितपुरमा बसेको जसपाको बैठकले उक्त निर्देशिकालाई पारित गरेको जसपाका बरिष्ठ नेता अशोक राईले जानकारी दिए । उक्त निर्देशिका फागुन २९ र ३० गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिने छ ।

त्यस्तै बैठकले समसामयिक राजनीतिक परिस्थिति र कार्यदिशा सम्बन्धी प्रतिवेदन पारित गरेको र उक्त प्रतिवेदन शनिबार बस्ने संघीय परिषद्को बैठकमा पेश गरिने राईले बताए । उनले संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको अन्य एजेण्डाहरु पनि तयार गरेको जानकारी दिए।
जसपाभित्र पार्टी समायोजन, कार्यविभाजन, कार्यकारिणी समिति विस्तार, पदाधिकारी चयन, कार्यकारिणी अध्यक्षलगायतका विषयमा नेताहरूबीच विवाद छ । उक्त विषयहरु परिषद् र केन्द्रीय समितिको बैठकमा छलफल हुने जसपाले जनाएको छ ।



