सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा मन्त्रीहरूको कार्यशैलीको आलोचना भएको छ । राजधानीमा बुधबार र बिहीबार बसेको बैठकमा सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी सदस्यहरू (मन्त्री)ले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
मन्त्रीहरूले पार्टीको पक्षमा काम गर्न नसकेको र समन्वय पनि नभएको गुनासो सदस्यहरूले गरेका छन् । एक सदस्यका अनुसार मन्त्रीहरूको कार्यशैली परम्परागत भएको, पार्टीले उठाएका विषय सम्बोधन गर्न नसकेको र जनताले परिवर्तनको महसुस गर्न नपाएको भन्दै बैठकमा प्रश्न उठेको थियो ।
बैठकमा उठेका प्रश्नको जवाफ दिँँदै अध्यक्ष माधवकुमार नेपालले आत्मसमीक्षासहित अगाडि बढ्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । ‘कमीकमजोरी भए सच्याउनुपर्छ । जनताको पक्षमा ध्यानकेन्द्रित गरेर काम हुनुपर्छ । आत्मसमीक्षा गरेर अगाडि बढ्नुहोस्,’ नेपालको भनाइ उदृत गर्दै एक सदस्यले भने ।

ती सदस्यका अनुसार बैठकले मन्त्रीहरूलाई देश र जनताको पक्षमा प्रभावकारी काम गर्न निर्देशन दिएको छ । एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ छन् ।
एकीकृत समाजवादीबाट प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई र बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् । अन्य प्रदेशमा पनि एकीकृत समाजवादीबाट मन्त्री बनेका छन् ।



