सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यथास्थितिमा एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउन नसकिने अडानमा आफूहरु कायमै रहेको बताएका हुन् ।
एमसीसी सम्झौताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उनले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे । अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशंका बढाएको तर्क गरे ।

एमसीसी सम्झौताका केही प्रावधानहरु परिवर्तन गर्ने सम्बन्धमा अझैपनि छलफल चलिरहेको उनले बताए । उनले भने, ‘यस सन्दर्भमा कतिपय प्रावधानहरुको बारेमा प्रश्नहरु उठेका छन् । ति आपत्तिजनक रहेका छन् । ती प्रावधानहरुलाई सच्याउनु पर्दछ । सुधार्नुपर्दछ । त्यसको निम्ति हामीले धेरै समयदेखि कुरा उठाइ पनि रहेका छौँ । प्रधानमन्त्रीको ध्यान आकर्षित पनि गरेका छौँ । नेकपा हुँदाखेरी नै कार्यदल बनेर अध्ययन गरेको थियो । अध्ययनका केही विषय अगाडी सारिएका थिए । त्यसको अझै सटीक जवाफ आएको छैन । अमेरिकाले केही प्रष्ट पार्न खोजेका कुराहरु भएतापनि कतिपय कुराहरुले कन्फ्युज पैदा ग-यो । अमेरिकीहरुले केही अभिव्यक्तिले गर्दाखेरी, यसैबिचमा सहायता नलिदाँखेरी नेपाललाई दबाब दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए । यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ । हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौँ भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला ? भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौँ । तर एकदम अवसरवादी नीति लिएको र अराजनीतिक अडान लिएको केपी ओली गुटले हामी माथि कारबाही गर्नुपर्दछ, सभामुखमाथि कारबाही गर्नुपर्दछ भन्नेदेखि लिएर यस्ता अत्यन्तै गैर राजनीतिक, प्रतिशोधात्मक कुरा राखेर देशको हितमाथि कुठाराघात गर्ने र विदेशीको सामु लम्पसार पर्ने नीति लिँदै आएको पनि छ । बिगतमा पनि त्यही भएको थियो ।’
अध्यक्ष नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धन र सुरक्षा रणनीतिको अंगको रुपमा समावेश गर्न नदिने बताए । उनले छिमेकी देशहरुको सुरक्षामा असर पर्ने काम नेपालको भूमिबाट हुन नदिने पनि बताए । उनले संसदमा टेबल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभई स्वतन्त्र ढंगले निर्णय लिनुपर्ने बताए ।



