मधेश प्रदेशका चार जिल्लामा कोरोना भाइरस (कोभिड-१९) विरूद्ध घुम्ती खोप सेवा कार्यक्रम सुरू भएको छ ।
अस्ट्रेलियाली सरकारको सहयोग, आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा घुम्ती खोप सेवाको प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले शुभारम्भ गरेका हुन् ।

खोप नलगाएका गर्भवती, सुत्केरी, अशक्त अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा रोगी व्यक्तिहरूलाई घरमै स्टार्फ नर्स सहितको टोलीले खोप लगाउने आड्राका कार्यक्रम प्रबन्धक पंकज भट्टराईले जानकारी दिए ।
उनका अनुसार बागमती सेवा समाजबाट परिचालित स्टाफ नर्सको समन्वयमा खोपबाट बञ्चित वर्गलाई स्थानीय सरकारी निकायको कर्मचारीले घर दैलोमा गई खोप लगाइनेछ ।
‘मधेशमा अझै ३७ प्रतिशतले खोप लगाएका छैन। गर्भवती, रोगी र वृद्धलाई खोप केन्द्रसम्म पुगेर खोप लगाउने अवस्था छैन । त्यसैले घुम्ती सेवा सुरू गरेका हौं,’ उनले भने, ‘यो मोडेल ठिक छ कि छैन राम्रो चल्छ कि चल्दैन चेक गर्न सुरूआती चरणमा चार महिनाका लागि यो कार्यक्रम सुरू गरेका छौं । यो अवधिमा ३० हजारलाई खोप लगाउने हाम्रो लक्ष्य छ ।’
भ्याक्सिनेसन कम भएको अवस्थामा आड्राले गरेको सहयोग महत्वपूर्ण रहेको सामाजिक विकासमन्त्री साहले बताए ।



