सिरहा । आज मधेस विद्रोहमा सहादत प्राप्त गर्ने प्रथम सहिद रमेश महतोको स्मृति दिवस हो । आजको दिनलाई ‘बलिदानी दिवस’ को रुपमा लिईएको छ । मधेस सरकारले सार्वजनिक विदा पनि दिएको छ ।
पहिलो, दोस्रो र तेस्रो मधेस विद्रोहसँगै भर्खर प्रदेश २ सरकारले आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । प्रदेश २ अब ‘मधेस प्रदेश’ को नाउमा परिणत भएको छ । यसका निम्ति प्रदेश सभाले सोमवार दुई तिहाई (८० मतका साथ) मधेस प्रदेश नामाकरणलाई लालमोहर लगाउन सफल भएको छ ।
मधेस आन्दोलनको जगमा स्थापित संघीयतालाई सबल, बलियो र मजबुत बनाउनु पर्ने आवश्यकता छ । मधेसको पहिचान प्रदेश २ को नामाकरणसँगै पुगेको छ । त्यसो त मधेस विद्रोह तराई मधेसका २२ जिल्लालाई समेटेर ‘एक मधेस एक प्रदेश’ मागवाट सुरु भएको थियो । शासकहरुले मधेस आन्दोलन मत्थर पार्न विभिन्न चरणमा सहमति गरेपनि त्यसलाई संविधानमा अंगिकार गर्न सकेनन् । जसको कारण हो, आठ जिल्लाको मधेस प्रदेश ।
मधेस विद्रोहको बलमा संघीयता स्थापित भएको र त्यही संघीयतामा रहेको पहिचानको सबाल अब मधेस प्रदेश नामाकरणसँगै सफल भएको छ । यसले मधेस विद्रोह र सहादत दिएका सहितप्रतिको न्याय हो । सहिदले देखेको आफ्नो शासन, प्रशासन, आफ्नो प्रदेश स्थापित गरेको छ ।

मधेस विद्रोहको मुख्य एजेण्डा स्थापित भएपछि अब मधेस सरकारलाई सुशासन कायम राख्नु पर्ने चुनौती बढेको छ । मधेस सरकारले सुरुका दौरानमा जति लोकप्रियता हासिल गरेको थियो, अन्तिम समयसम्म आईपुग्न लाग्दा त्यो स्खलित हुन थालेको छ । भ्रष्टाचार, कार्यकर्तामुखी बजेट, प्रदेशको समुन्नतीको निम्ति आवश्यक पर्ने योजनालाई सार्थक रुपमा दिन नसक्दा प्रदेश सरकार आलोचनामा तानिदै आएको छ ।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, जस्ता क्षेत्रमा प्रदेशको सूचांक खस्किदो छ । यसैले मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टीले मधेस सरकारलाई सफल बनाउने गरी आफ्नो प्रभावलाई विस्तार गर्नुपर्ने आवश्यकता छ । भोलीको दिनमा मधेस प्रदेशको सफलताले नै देशमा संघीयताको सफलता स्थापित हुने भएकोले यसतर्फ प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ ।
मधेस विद्रोहका प्रथम सहितको सच्चा श्रद्धाञ्जली पनि प्रदेशमा सुशासन, भ्रष्टाचारमुक्त प्रदेश, वेतिथि र कुरुति विहीनको प्रदेश स्थापना भएपछि हुन सक्छ । अतः मधेसवादी दलसँगै प्रदेश सरकारमा सहभागी दलहरुले पनि मधेस विद्रोहले स्थापित गरेको संघीयतालाई सफल बनाउन र सहिदको बलिदानीलाई सम्मान गर्न आफ्ना कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ । प्रदेशको खस्किदो ग्राफलाई राम्रो सुचांकमा माथि उक्लिने गरी पारदर्षि भएर काम गर्नुपर्छ ।



