जनकपुरधाम । नेपाल सरकारले घोषणा गरेपनि जनशक्ति र प्राविधिक सामाग्री आभावका कारण मोडर्ना खोप संचालन हुन सकेको छैन ।
सरकारको घोषणा गरे अनुरूप प्रदेश २ का ५ जिल्लामा पुस ४ गतेदेखि १४ गतेसम्म मोडर्ना खोप संचालन गर्न निर्देशन दिएको थियो ।

पहिलो चरणमा प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारामा मोडर्ना खोप अभियान सञ्चालन हुने तालिका रहेको थियो ।
तर नियमित खोप र हाल संचालनमा रहेको भेरोसेल, फाइजरसहितका खोप संचालनमा रहेकोले जनशक्ति र प्राविधिक सामग्री लागेकाले मोर्डना खोप अभियान संचालन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले बताए ।
उनले भने, ‘नियमित रूपमा संचालन हुने बिसिजि, बिसिटि लगायतका खोप संचालनमा छ, कोभिड विरुद्धको खोप अभियानमा नै आइसप्याक, भ्याक्सिन क्यारियर, जनशक्ति सबै प्रयोग भइसकेको कारण प्रमुख जिल्ला अधिकारीहरुको अध्यक्षतामा रहेको समितिको निर्णय अनुसार खोप लगाउने समय तालिका सारिएको छ ।’
निर्देशक झाका अनुसार बारामा १२ गते देखि, रौतहटमा १४ महोत्तरीमा ७, सिरहा ५ देखि ८ र ११ देखि १४ गते सम्म मोडर्ना खोप अभियान सञ्चालन हुने बताए ।
अन्य जिल्लाहरु सप्तरी, धनुषा र पर्सामा फाइजर खोप अभियान जारी रहेकाले मोडर्ना खोप अभियान सञ्चालन नहुने निर्देशक झाले बताए ।



