#सप्तरी#सिरहादुर्घटना

सप्तरी । दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन् । बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव छन् । यी तीनसहित चार जना प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन् । एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए । उनले भने, ‘अहिले उनको परिवारमा रुवाबासी चलेको छ । गाउँ शोकमा डुबेका छन् ।’

मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने बुझिएको छ । पछिल्लो समय प्रदेश २ का जिल्लाहरुमा दुर्घटना बढेको छ । सवारीको चाप बढेको र सडक साघुरो रहेकाले दुर्घटना बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय