बाढी–पहिरोम्याग्दीविस्थापित

म्याग्दी । निरन्तरको वर्षासँगै बाढी र पहिरोमा परेर म्याग्दीको विभिन्न ठाउँमा तीन जना घाइते भएका छन् भने ६० जना विस्थापित भएका छन् । हिजो आइतवार राति कालीगण्डकी नदीको बाढीले सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा घर बगाउँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा कालीपुल बस्दै आएका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पूर्जा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

वर्षाका कारण सडकभन्दा माथिबाट ठूलो ढिस्कोसहितको पहिरो कालीगण्डकी नदीमा खसेर बाढी बस्तीतर्फ पसेपछि कालीपुलका ६ वटा घरमा क्षति पुगेको छ । बाढीका कारण कालीपुलका राजेन्द्र गुरुङ, क्षेत्रबहादुर गौचन, सुरेश राम्जाली, ताराप्रसाद पुन, युमाया पुन र धर्मदत्त थापाको टिनको छाप्रो (टहरा) मा क्षति पुगेको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

बाढीका कारण विस्थापित परिवारलाई अहिले कालीपुलमा रहेको कबर्डहलमा सारिएको प्रहरीले जनाएको छ ।

यसैबीच वर्षाकै कारण पहिरो खसेर बन्द भएको पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक सञ्चालनमा आएको छ । यस खण्डको बेनी नगरपालिका ४ घुमाउने भिर तथा मालिका ६ दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको प्रहरीले जनाएको छ ।

उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक भने वर्षाका कारण पहिरो खसेर बन्द भएको छ । बेनी–बाग्लुङ सडक खण्ड पनि भसभसे र रानीवनको पहिरोले बन्द भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!