सिरहा । समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज तथा अपमानजनक टिप्पणी गरिएको भन्दै नेपाल पत्रकार महासंघ, सिरहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा सिरहाको लहान नगरपालिका–७ मा जुवातास खेलिरहेको अवस्थामा पशुपति सिनेमा हलका सञ्चालक नीरज गुप्तासहित चार जना पक्राउ परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको उल्लेख छ ।
उक्त समाचार प्रकाशित भएपछि नीरज गुप्ताले सरगम एफएमका सञ्चालक एवं सञ्चारकर्मी फिरोज शेखको तस्बिर आफ्नो फेसबुक वालमा राखेर ‘फटाहा पत्रकार’ लगायतका आपत्तिजनक तथा अशोभनीय शब्द प्रयोग गर्दै गालीगलौज गरेको महासंघले जनाएको छ ।
समाचारप्रति असहमति भए खण्डन गर्ने, कानुनी उपचार खोज्ने वा सम्बन्धित निकायमा उजुरी गर्ने वैधानिक बाटो हुँदाहुँदै पत्रकारको तस्बिर सार्वजनिक गरी व्यक्तिगत प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्ने अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सम्मान तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको महासंघको ठहर छ ।
पत्रकारले समाचार सम्प्रेषण गरेकै आधारमा गालीगलौज, धम्की, चरित्रहत्या तथा सामाजिक सञ्जालमार्फत अपमानित गर्ने प्रवृत्ति कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर बनाउनुका साथै पत्रकारको सुरक्षा र पेसागत सम्मानमा समेत चुनौती थप्ने महासंघले जनाएको छ ।
महासंघले सम्बन्धित व्यक्तिलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, सामाजिक सञ्जालमा प्रकाशित आपत्तिजनक सामग्री हटाउन तथा पत्रकार फिरोज शेखसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ । साथै, घटनाको निष्पक्ष छानबिन गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनसँग माग गरेको छ ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले हस्ताक्षर गरेको विज्ञप्तिमा पत्रकारको पेसागत मर्यादा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय