शुभ नारायण कामती
सिरहा । मिथिलाञ्चलका महिलाले सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख–शान्तिको कामना गर्दै मनाउने तीनदिने जितिया व्रत आजदेखि सुरु भएको छ ।
विशेषगरी विवाहित तथा सन्तान भएका महिलाले धार्मिक आस्था र परम्पराअनुसार निराहार तथा निर्जल व्रत बस्ने गरेका छन् । जितिया व्रतमा व्रतालु महिलाले करिब २४ देखि ७२ घण्टासम्म कठिन उपवास बस्ने परम्परा रहेको छ ।
स्वास्थ्य अवस्था कमजोर भएका वा अन्य स्वास्थ्य समस्या भएका महिलाले भने चिकित्सकीय परामर्श र सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । पानीसमेत नखाई लामो समय व्रत बस्दा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विशेषगरी गर्भवती तथा दीर्घरोग भएका महिलाले चिकित्सकीय सल्लाह लिनुपर्नेमा उनीहरूको जोड छ ।
व्रतालु महिलाहरूका अनुसार धार्मिक आस्था र परम्पराका कारण कठिन परिस्थिति भए पनि व्रत पूरा गर्ने चलन छ । सन्तानलाई कुनै अनिष्ट नहोस् भन्ने धार्मिक तथा भावनात्मक विश्वासका कारण व्रतलाई निरन्तरता दिने गरेको उनीहरू बताउँछन् ।
जितिया पर्वमा पूजा सामग्री राखिएको ‘डाली’ छोप्ने र खोल्ने परम्परासमेत विशेष मानिन्छ । सामान्यतः छोरा, नाति वा श्रीमान्ले डाली खोल्ने चलन रहेको छ । उनीहरू नभएको अवस्थामा आफन्त वा छिमेकी पुरुषलाई बोलाएर डाली खोल्ने परम्परा पनि कतिपय स्थानमा रहेको छ ।
धार्मिक आस्थासँगै जितिया सामाजिक तथा सांस्कृतिक मिलनको पर्वका रूपमा समेत विकसित हुँदै गएको छ । आफन्त, साथीभाइ तथा छिमेकी भेला भएर सामूहिक रूपमा दर खाने, शुभकामना आदानप्रदान गर्ने तथा जितियाका गीत, कथा र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रम बढेको छ । लामो समयदेखि भेटघाट हुन नसकेका आफन्त तथा साथीभाइबीच पुनर्मिलन गराउने माध्यमसमेत जितिया बन्न थालेको छ ।
जितिया पर्वमा जियल, बाँस, घिरौलाका पातलगायत प्राकृतिक सामग्री प्रयोग गर्ने परम्परा रहेकाले यसलाई प्रकृति र पर्यावरणसँग जोडेर हेर्ने गरिएको संस्कृतिविद्हरू बताउँछन् ।
सोह्रश्राद्धकै अवधिमा पर्ने भएकाले जितियामा पितृप्रति सम्मान प्रकट गर्ने परम्परासमेत रहेको छ । परम्परागत रूपमा पुरुषले मात्र श्राद्ध गर्ने मान्यता रहे पनि कतिपय स्थानमा छोरीले समेत श्राद्ध गर्न थालेका छन् । जितियाका अवसरमा महिलाले पितृलाई पानी अर्पण गर्ने तथा प्रसादी चढाउने परम्परा भने लामो समयदेखि कायम रहेको छ ।
यसरी जितिया सन्तानको दीर्घायु र परिवारको सुख–शान्तिको कामनामा गरिने धार्मिक व्रतसँगै महिला सहभागिता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, सांस्कृतिक संरक्षण तथा प्रकृतिप्रतिको सम्मानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा तराई–मधेसमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय