सिरहा सदरमुकामको मुख्य सडक विस्तारको काम अघि बढिरहेको छ । सडक विस्तारसँगै सहिद राजेश ठाकुर पार्क -थाना चौक) देखि महावीर चौकसम्म पहिलो चरणमा विद्युतीय पोलहरू हटाउने काम सुरु भएको छ । सडकलाई व्यवस्थित, फराकिलो र सुरक्षित बनाउने उद्देश्यले भइरहेको यो काम स्वाभाविक रूपमा स्वागतयोग्य छ । तर विकास निर्माणका क्रममा अपनाउनुपर्ने न्यूनतम सावधानी र समन्वयमा देखिएको कमजोरीले यही काम नागरिकका लागि जोखिमको कारण बन्न थालेको छ । विद्युतीय पोल हटाइँदै गर्दा पोलमा जोडिएका विभिन्न इन्टरनेट सेवा प्रदायक तथा नेपाल टेलिकमका तारहरू सडक तथा पैदल हिँड्ने स्थानमै अलपत्र छाडिएको अवस्था देखिनु गम्भीर विषय हो । पोल हटाउने काम एउटा निकायले गर्ने र पोलसँग जोडिएका तारको व्यवस्थापन अर्को निकायले गर्ने भन्दै जिम्मेवारी पन्छाउने प्रवृत्तिले सर्वसाधारणलाई जोखिममा पार्नु हुँदैन ।
सडकमा अव्यवस्थित रूपमा छरिएका तार पैदलयात्रीका लागि मात्र होइन, मोटरसाइकल, साइकल, रिक्सा तथा अन्य सवारीसाधनका लागि समेत दुर्घटनाको कारण बन्न सक्छन् । व्यस्त बजार क्षेत्रमा यस्ता तारले आवागमनमा अवरोध सिर्जना गर्नुका साथै कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठेको छ । विकासका नाममा नागरिकको सुरक्षा बेवास्ता गर्न मिल्दैन । अझ महत्वपूर्ण कुरा, सडक विस्तार र पोल स्थानान्तरण कुनै आकस्मिक काम होइन् । यसको पूर्वतयारी, समन्वय र कार्ययोजना हुनुपर्छ । पोल हटाउनुअघि त्यसमा जोडिएका विद्युत्, टेलिफोन, इन्टरनेटलगायतका तारहरूको पहिचान गरी सम्बन्धित सेवा प्रदायकसँग समन्वय गरेर सुरक्षित रूपमा हटाउने वा स्थानान्तरण गर्ने व्यवस्था मिलाउनुपर्ने हो । तर काम सुरु भएपछि मात्र समस्या देख्ने र त्यसको तत्काल व्यवस्थापन नगर्ने शैलीले विकास निर्माणप्रतिको जनविश्वास कमजोर बनाउँछ । सम्बन्धित निर्माण कम्पनी, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक कम्पनी तथा स्थानीय तहबीच प्रभावकारी समन्वय हुन आवश्यक छ । कसको तार हो भन्ने पहिचान गरी जिम्मेवार निकायले तत्काल हटाउने, व्यवस्थित गर्ने वा सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्नुपर्छ । सडकमा तार अलपत्र पारेर नागरिकलाई जोखिममा राख्ने छुट कसैलाई पनि हुनु हुँदैन् । यससँगै सडक विस्तारका क्रममा काम भइरहेको क्षेत्रमा आवश्यक सुरक्षा संकेत, अवरोध व्यवस्थापन तथा पैदलयात्रीका लागि सुरक्षित बाटोको व्यवस्था पनि अनिवार्य हुनुपर्छ । नागरिकलाई सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण पनि निर्माण पक्षको जिम्मेवारी हो ।

सिरहा सदरमुकामको मुख्य सडकलाई आधुनिक र व्यवस्थित बनाउने प्रयास दीर्घकालीन रूपमा महत्वपूर्ण छ । तर विकासको नाममा तत्कालीन जोखिमलाई बेवास्ता गरियो भने त्यसको मूल्य नागरिकले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले सडक विस्तारसँगै पोल र तार व्यवस्थापनलाई एउटै योजनाको अभिन्न हिस्सा बनाइनुपर्छ । सम्बन्धित निकायले अब ढिला नगरी सडकमा अलपत्र रहेका तारहरू तत्काल व्यवस्थापन गर्नुपर्छ । निर्माण कम्पनी र सेवा प्रदायकबीच आवश्यक समन्वय गराएर सुरक्षित रूपमा तार हटाउने वा स्थानान्तरण गर्ने काम अघि बढाउनुपर्छ । साथै, सडक विस्तारको बाँकी काममा यस्ता समस्या दोहोरिन नदिन स्पष्ट जिम्मेवारी, समयसीमा र अनुगमनको व्यवस्था गरिनुपर्छ । सडक विस्तार नागरिकको सुविधाका लागि हो, नागरिकलाई जोखिममा पार्न होइन । विकासको गति जति आवश्यक छ, विकास प्रक्रियामा नागरिकको सुरक्षा र सार्वजनिक सौन्दर्यको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ । सिरहाको मुख्य सडक विस्तारलाई अव्यवस्थित तारको जालोले कुरूप र जोखिमपूर्ण बन्न नदिने जिम्मेवारी सम्बन्धित सबै पक्षको हो । यसमा तत्काल पाईला अघि सार्दै समाधान खोज्नुपर्छ ।



