काठमाडौं : रसुवा र नुवाकोट आसपासका जलविद्युत् आयोजनाका सुरुङ तथा तटीय क्षेत्रमा हवाई र जमिनी माध्यमबाट खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ। भदौ १७ गते बिहान ११:०० बजेसम्मको विवरणअनुसार रसुवागढी, लाङटाङ, चिलिमे र त्रिशूली करिडोरका हाइड्रोपावर टनेलमा फसेकाहरूको खोजीका लागि नेपाली सेना र विदेशी विज्ञसहितको संयुक्त टोली खटिएको छ।

उद्धार टोली विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्रका अवरोध हटाउँदै अघि बढेको छ। रसुवागढी हाइड्रोमा टोली टनेलको करिब १५० मिटरभित्र पुगे पनि ठूला चट्टानका कारण ढिलाइ भएपछि पुनः ब्लास्टिङ र मेसिन प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ। यस्तै लाङटाङ हाइड्रोमा विदेशी विज्ञसहित २५ जनाको टोली १५० मिटरभित्र प्रवेश गरिसकेको छ भने चिलिमे र अपर त्रिशूली-१ (हाँकु) मा पनि नेपाली सेनाको टोली निरन्तर परिचालनमा छ।

त्रिशूली-३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको संयुक्त टोली ३ वटा स्काभेटर र १ वटा बोबक्याट प्रयोग गरी माटो पन्छाउन व्यस्त छ। कम्प्रेसर मेसिन, ब्रेकर र ब्लास्टिङ प्रविधिमार्फत अवरोध हटाएर टनेलको ‘आउटलेट’ भेट्याइएको छ। वर्षाका कारण जमेको १.५ मिटर पानी पम्पमार्फत निकालिएको छ। यस्तै त्रिशूली-३ ‘बी’ मा सेना, गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय र निवास क्षेत्र पहिचान गरी एक्साभेटरबाट बाटो निर्माणलाई तीव्र बनाएको छ।

बाढी र पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा उद्धारमा खटिएका छन्। प्रभावित क्षेत्रका जंगल, डाँडाकाँडा, खोला किनार र बस्तीहरूमा टोलीले पैदल गस्ती गर्दै स्थानीयको सुरक्षा र घाइतेको अवस्था मूल्याङ्कन गरिरहेको छ।

नुवाकोटको त्रिशूलीपारि कोलोनी, तुप्चे, सोले बजार लगायतका जोखिमयुक्त स्थानहरूमा जमिनी उद्धार टोली परिचालन गरिएको छ। उद्धार टोलीले घाइतेको तत्काल उद्धार, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन प्राथमिक उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको छ।

यसैबीच, रसुवाको टिमुरे इलाकामा फेला परेका शवहरूलाई व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन नेपाली सेनाले हेलिकप्टरमार्फत ‘स्लिङ लोड अपरेसन’ सुरु गरेको छ। भौगोलिक विकटता र निरन्तरको सास्तीका बाबजुद उद्धार टोलीले शव व्यवस्थापन र प्रभावित क्षेत्रमा राहत पुर्‍याउने काम अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय