शुभ नारायण कामती
सिरहा । समुदायस्तरमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन दक्ष, अनुशासित र प्रशिक्षित स्वयंसेवकको सञ्जाल विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण मुख्यालय सिरहाले समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत स्थानीय तहका लागि आयोजना गरेको विपद् स्वयंसेवक परिचालन विस्तारित तालिमको समापन समारोहमा वक्ताहरूले विपद्को पहिलो घडीमा समुदायमै रहेका प्रशिक्षित स्वयंसेवक नै सबैभन्दा भरपर्दो जनशक्ति हुने बताएका हुन् ।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, विशिष्ट अतिथिका रूपमा गोलबजार नगरपालिकाका नगरप्रमुख श्यामकुमार श्रेष्ठ तथा विशेष अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठक, राष्ट्रिय अनुसन्धान कार्यालय सिरहाका उपनिर्देशक सुरेन्द्र कोइराला, सशस्त्र प्रहरी बल नं. ७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापा (क्षेत्री), सिरहा र गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी, सुरक्षा अधिकारी तथा प्रशिक्षक–प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।
गत असार १५ गतेदेखि साउन ६ गतेसम्म सञ्चालन भएको १८ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको अवसरमा प्रमुख अतिथि नायब महानिरीक्षक भट्टले प्रशिक्षक, व्यवस्थापन टोली, सहयोगी निकाय तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपले सुरक्षित, सक्षम तथा विपद्–प्रतिरोधी समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
विशेष अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले विपद् कुनै समय वा स्थान हेरेर नआउने भएकाले त्यसको प्रभाव न्यूनीकरणका लागि दक्ष, अनुशासित र समर्पित स्वयंसेवक अपरिहार्य रहेको बताए । उनले तालिमबाट प्राप्त विपद् व्यवस्थापन, खोज तथा उद्धार, प्राथमिक उपचार, समन्वय, नेतृत्व विकास र मानवीय सेवासम्बन्धी ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे ।
सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापा (क्षेत्री)ले विपद् व्यवस्थापन उद्धार र राहतमा मात्र सीमित विषय नभई पूर्वतयारी, जोखिम न्यूनीकरण, जनचेतना, समन्वय र द्रुत प्रतिकार्यसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । उनले प्रशिक्षित स्वयंसेवक नै विपद्को पहिलो घडीमा समुदायका भरपर्दा सहयोगी हुने उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गरी प्रत्येक समुदायमा दक्ष विपद् स्वयंसेवक तयार पार्ने अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।
कार्यक्रममा आयोजक सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण मुख्यालय सिरहाले स्थानीय समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता व्यवहारिक, समुदायमुखी तथा क्षमता विकाससम्बन्धी तालिमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।




