कञ्चनपुर । आफ्नै श्रीमतीको अनुहार तथा शरीरमा तातो तेल खन्याई गम्भीर रूपमा जलाएर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ३४ वर्षीय अशोक भट्टले घरको भान्सामा सेलरोटी पकाइरहेकी आफ्नै श्रीमतीमाथि तातो तेल खन्याएको प्रहरीले जनाएको छ । उक्त घटनामा पीडितको अनुहारसहित शरीरका विभिन्न भाग जलेर कुरुप भएको बताइएको छ ।

गत मङ्सिर १५ गते सो घटनापछि फरार रहेका भट्टविरुद्ध तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी शरीर कुरुप पार्ने कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उक्त मुद्दामा सम्मानित जिल्ला अदालतबाट पक्राउ अनुमति समेत प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोजतलासको क्रममा मिति २०८३ साल ०३ महिना ०६ गते भीमदत्त नगरपालिका–४ क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका भट्टमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



