काठमाडौँ । सामाजिक सञ्जालको क्षेत्रमा ठुलो परिवर्तन ल्याउँदै मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपका लागि सशुल्क (सब्सक्रिप्सन) योजना सार्वजनिक गरेको छ । कम्पनीले व्यवसाय, क्रियटर र एआई प्रयोगकर्ताहरूका लागि पनि नयाँ ‘मेटा वन’ ब्रान्ड अन्तर्गत विभिन्न सशुल्क फिचरहरूको परीक्षण सुरु गरेको छ ।
मेटाले साधारण प्रयोगकर्ताहरूका लागि ‘इन्स्टाग्राम प्लस’, ‘फेसबुक प्लस’ र ‘ह्वाट्सएप प्लस’ नामका तीनवटा योजना ल्याएको छ । यसको मुख्य उद्देश्य विज्ञापन बाहेकको आम्दानीका स्रोतहरू बढाउनु र पावर युजरहरू (power users) लाई थप विशेष सुविधाहरू प्रदान गर्नु हो ।

इन्स्टाग्राम प्लस र फेसबुक प्लसको शुल्क प्रति महिना ३.९९ अमेरिकी डलर तोकिएको छ भने ह्वाट्सएप प्लसको शुल्क प्रति महिना २.९९ डलर रहेको छ । यस अन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइल कस्टमाइज गर्ने, नयाँ फन्टहरू प्रयोग गर्ने र विशेष एप आइकनहरू छान्न पाउनेछन् ।
स्टोरीमा विशेष सुविधाहरू थपिएका छन् । जस्तै: कसले आफ्नो स्टोरी कति पटक फेरि हेर्यो (Rewatch) भनेर चेक गर्न मिल्ने, अरूको स्टोरी थाहै नपाई प्रिभ्यु गर्न मिल्ने र स्टोरीको समय २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म राख्न मिल्ने आदि फिचर यसमा पाउन सकिनेछ । साथै प्रयोगकर्ताले हप्तामा एक पटक आफ्नो स्टोरीलाई ‘स्पटलाइट’ गरी धेरै भ्युअर माझ पुर्याउन सक्नेछन् ।
ह्वाट्सएप प्लसमा प्रयोगकर्ताले २० वटासम्म च्याटहरू पिन गर्न पाउनेछन् । साथै प्रिमियम स्टिकरहरू प्रयोग गर्न पाउने र कस्टम रिङ्टोन तथा एप थिमहरू राख्न पाउने सुविधा पनि यसमा समावेश छन् ।
मेटाका अनुसार यी ‘प्लस’ योजनाहरूले हाल अस्तित्वमा रहेको ‘मेटा भेरिफाइड’ लाई भने विस्थापित गर्ने छैन । मेटा भेरिफाइड मुख्यतया सुरक्षा र पहिचान प्रमाणीकरणमा केन्द्रित रहनेछ ।
एआई प्रविधिमा भएको ठुलो लगानीलाई मध्यनजर गर्दै मेटाले एआई प्रयोगकर्ताका लागि दुईवटा योजनाहरू परीक्षण गर्दैछ । जसमा मेटा वन प्लसको शुल्क मासिक ७.९९ डलर हुनेछ । त्यस्तै अर्को प्लान मेटा वन प्रिमियमको शुल्क मासिक १९.९९ डलर हुनेछ ।
प्रिमियम योजनाले जटिल कार्यहरूका लागि थिङ्किङ मोड (Thinking Mode) मार्फत गहिरो तर्क क्षमता प्रदान गर्ने बताइएको छ । साथै यसमा भिडिओ र तस्विर सिर्जना गर्ने उच्च क्षमता उपलब्ध हुनेछ । यी एआई योजनाहरूको परीक्षण अर्को महिनादेखि सिङ्गापुर, ग्वाटेमाला र बोलिभियामा सुरु हुनेछ ।
क्रियटर र व्यवसायका लागि विशेष योजना
व्यवसाय र कन्टेन्ट क्रियटरहरूका लागि मेटाले मेटा वन एसेन्सियल र मेटा वन एडभान्स्ड योजनाहरू ल्याएको छ । मासिक १४.९९ डलर पर्ने मेटा वान एसेन्सियलमा भेरिफाइड ब्याज (निलो टिक), सुरक्षा र प्रोफाइलमा धेरै लिङ्कहरू राख्न मिल्ने सुविधा हुनेछ ।
त्यस्तै मेटा वन एडभान्स्डको मूल्य मासिक ४९.९९ डलर तोकिएको छ । यसमा एसेन्सियलका सबै सुविधाहरूका साथै सर्च रिजल्टमा माथि देखिने, रिल्समा फलो बटनलाई विशेष रूपमा देखाउने र आफ्ना सामग्री अन्तर्क्रिया गर्नेहरूलाई स्वतः फलो गर्नका लागि इन्भिटेसन पठाउने जस्ता सुविधाहरू हुनेछन् ।



