पोखरा । पोखरा महानगरपालिका वडा नं.१२ अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभाग पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा रहेका व्यवसायिक सटरहरू हटाइएको छ ।

टिनका टहरा बनाई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले पोखरा महानगरपालिकाको रोहबरमा अमरसिंह माध्यमिक विद्यालयसँग समन्वय गरी ती टहराहरू हटाएका हुन् ।

जेठ ४ गतेसम्मको समयावधिमा आफ्ना सामानहरू सुरक्षित स्थानान्तरण गरी खाली भएका संरचनाहरू मङ्गलबार महानगरपालिकाले जेसीवी प्रयोग गरी हटाएको छ ।

त्यस स्थानमा सञ्चालनमा रहेका ५१ ओटा व्यवसायिक सटरहरू व्यवसायीहरू आफैले महानगरपालिका र विद्यालयको अनुरोधमा छोड्न तयार भएका हुन् ।

शहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रूपमा रहेको अमरसिंह क्षेत्र ती टहराहरूका कारण अस्वाभाविक देखिएको थियो ।

ती टहराहरू हटाएर व्यवसायीहरूले महानगरपालिकाको शहरी सौन्दर्यीकरणको अभियानमा साथ दिएको भन्दै उनीहरूलाई नगर प्रमुख धनराज आचार्यले आभार समेत व्यक्त गरेका छन् ।

लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीहरूलाई पुनर्स्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने उनले बताए।

पोखरामा पछिल्ला वर्षहरूमा फुटपाथ, सडक किनार र सार्वजनिक क्षेत्र अतिक्रमण हटाउने अभियान तीव्र बनेको छ ।

अमरसिंह क्षेत्रको टहरा हटाइनुलाई पोखराको सौन्दर्य सुधारतर्फको कदमका रूपमा हेरिए पनि यसले शहरी विकास र साना व्यवसायीको जीवनयापनबीच सन्तुलन कसरी मिलाउने भन्ने बहसलाई फेरि सतहमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय