सिरहा । पतिको दीर्घायु, पारिवारिक सुख–समृद्धि तथा दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चल क्षेत्रमा आज श्रद्धा र धार्मिक आस्थाका साथ बरसाइत (वटसावित्री) पर्व मनाइँदै छ । विशेषगरी मधेशका जिल्लाहरूमा विवाहित महिलाले परम्परागत विधिअनुसार व्रत बसेर यो पर्व मनाउने गर्दछन् ।
हिन्दु परम्पराअनुसार जेठ कृष्णपक्षको औँसी तिथिमा मनाइने यस पर्वलाई मिथिला संस्कृतिको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ । नवविवाहितादेखि ज्येष्ठ महिलासम्मले आ–आफ्नो परम्परा र पारिवारिक संस्कारअनुसार व्रत तथा पूजा गर्ने प्रचलन रहेको छ ।

परम्पराअनुसार विवाहपछिको पहिलो बरसाइत नवविवाहिताले अनिवार्य रूपमा श्रीमानको घरमै मनाउनुपर्ने मान्यता छ । पर्वको अघिल्लो दिन ‘नहाय–खाय’ गरी सात्विक भोजन गर्ने चलन रहेको छ । यस अवसरमा माइती पक्षबाट लुगा, चुरा, पोते, सिन्दूरलगायत शृङ्गार सामग्री पठाउने परम्परा पनि अझै जीवित रहेको छ ।
आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो तथा अन्य आकर्षक परम्परागत पहिरनमा सजिएर गाउँ–टोल नजिक रहेका वट (बर) वृक्षमुनि पूजा आराधनामा सहभागी भएका छन् । वर र पीपल दुवै वृक्ष सँगै भएका स्थानलाई विशेष शुभ मानिने भएकाले त्यस्ता स्थानमा पूजा गर्ने चलन रहेको छ ।

पूजाका क्रममा विवाहित महिलाले पति सहित वटवृक्षको पूजा गर्ने, फलफूल, अंकुरी, धूप, दीप तथा अक्षता चढाउने र रातो तथा पहेँलो धागोले वटवृक्षलाई सात पटक परिक्रमा गर्ने परम्परा रहेको छ । पूजा अवधिभर महिलाका दाजुभाइले छाता ओढाएर साक्षीका रूपमा साथ दिने सांस्कृतिक परम्परा मिथिला क्षेत्रमा विशेष मानिन्छ ।
बरसाइत पर्वमा महिला पुरोहितबाट मन्त्र उच्चारण गराई व्रतालु महिलाले वटवृक्षको जरामा जल, सिन्दूर तथा प्रसाद अर्पण गर्ने गर्दछन् । काँक्रो, केरा, आँप, लिची, नरिवल, अंकुरीलगायत सामग्री प्रसादका रूपमा चढाइन्छ ।
धार्मिक मान्यताअनुसार सावित्रीले आफ्ना पति सत्यवानको प्राण रक्षा गर्न कठोर व्रत तथा पूजा गरेकी थिइन् । सोही धार्मिक विश्वासका आधारमा विवाहित महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र परिवारको समृद्धिका लागि यो पर्व मनाउने परम्परा रहिआएको जानकारहरू बताउँछन् ।
अग्निपुराण लगायत हिन्दु धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वटवृक्षलाई दीर्घजीवन, स्थायित्व र समर्पणको प्रतीक मानिन्छ । यसै कारण मिथिला क्षेत्रमा बरसाइत पर्वलाई धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक निरन्तरतासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय