शुभ नारायण कामती
सिरहा । सिरहा सदरमुकाममा व्यवस्थित पार्किङस्थल अभाव हुँदा नागरिकले दैनिक सास्ती खेप्न बाध्य भएका छन् । सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै गए पनि प्रभावकारी पार्किङ व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको हो ।
पछिल्ला वर्षहरूमा सिरहा सदरमुकाममा मोटरसाइकल, कार, ई–रिक्सा, टेम्पो लगायत साना तथा ठूला सवारी साधनको संख्या उल्लेख्य रूपमा बढेको छ । तर, त्यसअनुसार सार्वजनिक पार्किङस्थल निर्माण हुन नसक्दा मुख्य सडक नै पार्किङस्थलमा परिणत भएको स्थानीयवासीको गुनासो छ ।
विशेषगरी मुख्य बजार, अस्पताल रोड, मालपोत क्षेत्र, जिल्ला अदालत आसपास, हेमनारायण चौक, महावीर चौक तथा बैंक र सरकारी कार्यालय नजिकका सडकमा जथाभावी पार्किङ गरिने क्रम बढेको छ । सडक किनारमै सवारी साधन पार्किङ गरिँदा पैदलयात्रु सडकको बीच भाग हुँदै आवतजावत गर्न बाध्य छन् ।

त्यसमाथि बजार क्षेत्रमा सञ्चालन हुने सिटी रिक्सा, म्याजिक, विङ्गर, बस लगायत सार्वजनिक सवारी साधनले सडककै बीच तथा जथाभावी स्थानमा यात्रु चढाउने–ओराल्ने गर्दा ट्राफिक व्यवस्थापन थप अस्तव्यस्त बनेको छ । स्थानीय युवा नेता अरबिन्द्र यादवका अनुसार यसले दुर्घटनाको जोखिम झनै बढाएको छ ।
“सार्वजनिक सवारी साधन जहाँ पायो त्यहीँ रोकेर यात्रु चढाउने र ओराल्ने गर्छन् । हेमनारायण चौकमा २४ घण्टा ट्राफिक ड्युटी भए पनि अव्यवस्थित पार्किङ र सवारी रोक्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढिरहेको छ,” यादवले बताए ।
उनका अनुसार क्याम्पस गेट, जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार अगाडि समेत सार्वजनिक सवारी साधन रोकेर यात्रु चढाउने–ओराल्ने गरिन्छ । जसका कारण सडक साँघुरिने, ट्राफिक जाम हुने तथा पैदलयात्रुलाई जोखिम मोलेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।
स्थानीय व्यवसायीका अनुसार बजार क्षेत्रमा दैनिक हजारौं मानिसको आवतजावत हुने भए पनि पार्किङ व्यवस्थापनको दीर्घकालीन योजना अभावले समस्या झन् जटिल बन्दै गएको छ । “सडक साँघुरो छ, त्यसमाथि दुवैतर्फ सवारी पार्किङ हुन्छ । पैदल हिँड्नै मुस्किल भएको छ,” स्थानीय अगुवा तथा सिरहा नगरपालिका–१ का सदस्य शम्भु साहले बताए ।
व्यवस्थित पार्किङ अभावकै कारण ट्राफिक जाम, दुर्घटनाको जोखिम तथा बजार व्यवस्थापनमा चुनौती थपिएको ट्राफिक प्रहरीको भनाइ छ । मुख्य सडक किनारमै मोटरसाइकल तथा चारपांग्रे सवारी पार्किङ गरिँदा एम्बुलेन्स, दमकल लगायत आपतकालीन सेवाका सवारी सञ्चालनसमेत प्रभावित हुने गरेका छन् ।
सिरहा ट्राफिक प्रहरीले बजार क्षेत्रमा नो–पार्किङ क्षेत्र निर्धारण, अव्यवस्थित पार्किङ हटाउने तथा ट्राफिक व्यवस्थापनका अभियान सञ्चालन गरे पनि स्थायी पार्किङस्थल अभावका कारण समस्या समाधान हुन नसकेको जनाएको छ । “सवारी चाप दिनप्रतिदिन बढिरहेको छ, तर त्यसअनुसार पूर्वाधार विस्तार हुन सकेको छैन,” ट्राफिक कार्यालय स्रोतले जनाएको छ ।
यता स्थानीयवासीले सिरहा नगरपालिकाले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । बजार क्षेत्रभित्र सार्वजनिक जग्गाको पहिचान गरी बहुउद्देश्यीय पार्किङस्थल निर्माण गर्न सके ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने उनीहरूको विश्वास छ ।
नगरपालिकाका एक अधिकारीले पार्किङ व्यवस्थापनका विषयमा छलफल भइरहेको बताए पनि जग्गा अभाव तथा सीमित बजेटका कारण काम अघि बढ्न नसकेको स्वीकार गरे । उनका अनुसार आगामी नगर योजनाअन्तर्गत व्यवस्थित पार्किङ निर्माणलाई प्राथमिकतामा राख्ने तयारी भइरहेको छ ।
सवारी साधनको बढ्दो चापसँगै सिरहा सदरमुकामको बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै जाँदा दीर्घकालीन योजना, प्रभावकारी कार्यान्वयन र व्यवस्थित शहरी पूर्वाधार निर्माणप्रति नागरिकको अपेक्षा बढ्दै गएको देखिन्छ ।



