३० वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले

कार्यसूचीमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको तर्फबाट माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।’
नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।प्रधानमन्त्रीले नै नीति तथा छलफल माथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षीको माग थियो । पछि सभामुखको पहलमा भएको छलफलपछि विपक्षी दलहरू मन्त्रीलाई टेवल गर्न दिन तयार भए पनि छलफलमा तथा जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडानमा रहेका थिए ।
प्रधानमन्त्रीलाई उपस्थित हुन रुलिङ गर्न उनीहरूले पटकपटक सभामुखसँग आग्रह गरेका थिए । सभामुखले प्रधानमन्त्रीको कार्यसूचीबारे आफूलाई जानकारी नहुने भन्दै त्यस्तो रुलिङ गर्न नसक्ने जनाएपछि विपक्षीले हिजो बैठक चल्न दिएनन् । विपक्षीको लगातारको अवरोधपछि सभामुखले आजका लागि बैठक स्थगित गरेका थिए ।
अब आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । अर्थमन्त्रीले जवाफ दिएपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
आजै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस हुनेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



