जनकपुरधाम । सत्ता साझेदार दल जनमत पार्टीले कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै सत्ताको खेल पुनः सुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कृष्णप्रसाद यादव नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेको हो ।

संघमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समावादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकीकरण भएको छ । यद्यपि पार्टी एकीकरण भएको पत्र मधेस प्रदेशसभामा आइसकेको छैन ।

यी दुई दल एक भएको मान्दा अहिले मधेस प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल बन्छ । जसपा नेपाल अहिले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने रणनीतिमा छ ।

जसपा नेपालले सरकारको नेतृत्व गर्दै नेकपा (एमाले) लाई पनि सरकारमा ल्याउने तयारी गरेको छ । जसपा नेपाल, एमाले र जनमतबीच गठबन्धन गरी सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको नेताहरूको दाबी छ ।

जसपा नेपालकी प्रमुख सचेतक किरण कुमारी साहले सरकार बनाउने तयारी औपचारिक रूपमा सुरु नभएको बताइन् । तर, ठूलो दलको हैसियतले सरकार नेतृत्वको दाबी स्वतः हुने उनको भनाइ छ ।

“सरकार बनाउने वा फिर्ता हुनेबारे जसपामा औपचारिक रूपमा छलफल सुरु भएको छैन । अहिलेसम्म दलको बैठक पनि डाकिएको छैन,” उनले भनिन्, “तर, जसपा वर्तमान नेतृत्वको सरकारको काम कारबाहीसँग असन्तुष्ट छ ।”

उनले प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने आफूहरूको स्वतः दाबी हुने उल्लेख गरिन् । “सरकार ढल्यो भने वा सर्मथन फिर्ता लिने अवस्था आयो भने सबैभन्दा ठूलो दलको हैसियतले सरकार नेतृत्वको दाबी स्वतः हुन्छ,” साह भन्छिन् ।

एमाले सांसद सारदा थापाको भनाइअनुसार पनि मधेस प्रदेश सरकार परिवर्तनको तयारी भइरहेको बुझिन्छ । यो सरकार ढलेर बन्ने नयाँ सरकारमा आफूहरू सहभागी हुने तयारीमा रहेको उनको भनाइ छ ।

“अन्य पार्टीलाई नै नेतृत्व दिएर सरकारमा सहभागी हुने एमालेभित्र तयारी भएको छ,” थापा भन्छिन्, “सरकारमा जाने र वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने हाम्रो तयारी छ ।”

जसपा नेपालका सांसद तथा पूर्वमुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल पनि सरकार परिवर्तनको प्रयास भइरहेको बताउँछन् । अहिलेको सरकारको कार्यसम्पादन राम्रो नभएकाले सबै कुरा भइरहेको सोनलको प्रतिक्रिया छ । यो विषयमा दलको बैठक बसेर छिट्टै निर्णय लिइने उनले बताए ।

मधेस प्रदेशसभामा जसपासँग २६, जनमतसँग १२ र एमालेसँग २४ सांसद छन् । जनमतभित्र भने तीव्र विवाद देखिएको छ ।

भदौ २४ मा तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले पदबाट राजीनामा दिएका थिए । त्यसयता मधेस प्रदेश सरकार अस्थिर बनेको छ । सिंहले राजीनामा दिएयता मधेसमा तीनजना मुख्यमन्त्री फेरिएका छन् । फेरि अर्को सत्ताको खेल सुरु भएको छ ।

जनमतमा विवाद

जनमतका प्रमुख सचेतक चन्दन सिंहले १० जना सांसदको हस्ताक्षरसहित सरकारबाट सर्मथन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् ।

उता, संसदीय दलका नेता महेशप्रसाद यादवले सरकारलाई दिएको सर्मथन कायमै रहेको अर्को पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् ।

अर्कातर्फ जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय भएको बताएका छन् । यही वैशाख ११ गते बसेको संसदीय दलको बैठले सरकार छाड्ने निर्णय लिएको उनको भनाइ छ ।

विवादकै बीच जनमतले प्रदेशसभामा संसदीय दलको नेता परिवर्तन गरेको छ । सोमबार (वैशाख २१) देखि नै लागु हुने गरी चन्दनकुमार सिंहलाई संसदीय दलको नेता तोकिएको राउतले जनाएका छन् ।

मधेसमा जनमतको संसदीय दलको नेता यसअघि महेशप्रसाद यादव थिए । सोमबारै उनले सरकारलाई समर्थन कायम रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । उनी प्रदेशका अर्थमन्त्री समेत हुन् । उनलाई हटाएर सिंहलाई संसदीय दलको नेता बनाइएको पत्र राउतले सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय