बाँकेको वैजनाथ गाउँपालिका-६ लालपुर निवासी ६० वर्षीया दिलसरा बि.क.को भेरी अस्पताल नेपालगन्जमा भएको मृत्यु प्रकरण पेचिलो बन्दै गएको छ। दिलसराको मृत्यु भएपछि परिवार तथा आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै दुई दिनअघि तनाव सिर्जना गरेका थिए। अहिले अस्पतालका चिकित्सकहरू आफूहरूलाई भौतिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिएको भन्दै आन्दोलित भएका छन्। उता, मृतकका परिवार तथा आफन्तहरूले चिकित्सक र स्वास्थ्यकर्मी विरुद्ध जाहेरी दिएर कानुनी रूपमा अगाडि बढेका छन्।
नेपाल चिकित्सक संघ भेरी शाखाले भेरी अस्पतालका चिकित्सकमाथि भौतिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखा अध्यक्ष डा. रुपानन्द अधिकारी र सचिव डा. प्रचण्ड गौतमले जारी गरेको विज्ञप्तिमा घटनामा संलग्नहरूलाई तत्काल गिरफ्तार गरी कानुनको दायरामा ल्याउन माग गरिएको छ। शाखाको माग २४ घण्टाभित्र सम्बोधन नभए संघमा आबद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमर्जेन्सी बाहेकका सेवाहरू बन्द गर्ने चेतावनी पनि दिइएको छ।

संघले भेरी अस्पतालमा पुगेर मृतकका परिवार तथा आफन्तले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी र अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि आक्रमणको धम्की दिने र आक्रमण प्रयास गर्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ। ‘हामीहरू आफ्नै कार्यकक्षमा बसेर काम गर्नलाई पनि सुरक्षित छैनौँ,’ उनले भने, ‘हामीमाथि भौतिक आक्रमण गर्न उत्रिने विरुद्ध जाहेरी दिएका छौँ, उनीहरूलाई कारबाही हुनुपर्यो।’
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले काममा निस्किने वातावरण नै नभएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. पाण्डेले चिकित्सक र स्वास्थ्यकर्मीहरू बाहिर निस्केर काम गर्ने वातावरण नै नभएको बताए। ‘खुलेआम भौतिक आक्रमणमा उत्रिने र मार्ने धम्की दिएपछि काम गर्ने वातावरण नै छैन,’ पाण्डेले भने।
मृतकका छोरा सुरेश कामीले उपचारमा लापरबाही गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका छन्। सुरेशले उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्न माग गरेका छन्। अस्पतालको मृत्यु प्रकरण पेचिलो बन्दै जाँदा उपचारका लागि आउने बिरामी मर्कामा परेका छन्। टाढाबाट उपचारका लागि आएका बिरामीहरू चिन्तामा छन्।
आफन्तका अनुसार अस्वस्थ भएपछि गत वैशाख ३ गते दिलसरालाई चेकजाँचका लागि नेपालगन्जस्थित ‘तेजस्वी हार्ट सेन्टर’ मा लगेका थिए। छातीको दुखाइ भएपछि सेन्टरमा पुगेकी दिलसरालाई मुटु रोग विशेषज्ञ डा. विकास नेपालले चेकजाँच गरे। मुटुको इसिजी, इको र इमाइलेस नर्मल देखिएपछि केही दिनको औषधि दिएर उनले घरमा पठाए। तर बिरामीको स्वास्थ्यमा सुधार आएन।
वैशाख ६ गते परिवारले दिलसरालाई पुनः तेजस्वी हार्ट सेन्टरमा ल्याएका थिए। नेपालले बिरामीको थप स्वास्थ्य परीक्षण गरे। बिरामीको स्वास्थ्य समस्या पहिचान गर्नका लागि थप अनुसन्धान, इन्डोस्कोपी तथा मुटुका अन्य जाँचहरू गर्नुपर्ने भएकाले नेपालले उनलाई भेरी अस्पतालमा पठाएका थिए। अस्पतालमा झन् स्वास्थ्य अवस्था बल्झिँदै जाँदा दिलसराको वैशाख १३ गते मृत्यु भएको थियो।



