काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा एकल बहुमत प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीलाई अमेरिकाले बधाई दिएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति लामिछानेलाई मंगलबार फोन गरी बधाई दिएका हुन्।
गोरले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न तयार रहेको जानकारी गराए। नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिँदै भनेको छ, ‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ। अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ।’




