कोकिला भण्डारी
धनकुटा । धनकुटा नगरपालिका–३ मा निर्माणाधीन सडकको गुणस्तर र चौडाइबारे जानकारी लिन खोज्दा एक स्थानीयमाथि वडा अध्यक्ष विकास घिमिरेबाट दुव्र्यवहार भएको घटना सार्वजनिक भएको छ । सार्वजनिक सरोकारसँग प्रत्यक्ष जोडिएको विकास निर्माण कार्यबारे जिज्ञासा राख्दा जनप्रतिनिधिबाटै अपमानजनक व्यवहार भएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
स्थानीयका अनुसार सडक फराकिलो बनाउने तथा निर्माणको मापदण्डबारे बुझ्न खोज्दा वडा अध्यक्ष घिमिरेले सार्वजनिक रूपमै आक्रामक व्यवहार प्रदर्शन गरेका थिए । पीडितका अनुसार उनले “तेरो के खाइदिएको छु” जस्ता अपमानजनक शब्द प्रयोग गर्दै औँला ठड्याएर गाली–गलौज तथा धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका थिए । घटनास्थलमा रहेका अन्य व्यक्तिहरूले समेत उक्त व्यवहार असभ्य र अनुचित रहेको बताएका छन् ।
“हामीले सडकको चौडाइ, कामको अवस्था र मापदण्डबारे जानकारी लिन खोजेका थियौं, तर उल्टै हप्कीदप्की र अपमान सहनुप¥यो,” एक स्थानीयले गुनासो गरे ।
स्थानीयवासीका अनुसार विकास निर्माण जस्तो सार्वजनिक सरोकारको विषयमा प्रश्न उठाउनु नागरिकको संवैधानिक अधिकार हो । तर, जनप्रतिनिधिले जवाफदेही बन्नुको साटो आक्रोशित रूपमा प्रस्तुत हुनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनीहरूको भनाइ छ । उनीहरूले यस्तो व्यवहारले जनप्रतिनिधिप्रतिको विश्वास कमजोर बनाउने बताएका छन् ।
घटनापछि पीडित पक्षले वडा कार्यालय, सम्बन्धित नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा प्रहरीसमक्ष औपचारिक उजुरी दिने तयारी गरेको जनाएको छ । साथै, सडक निर्माण कार्यमा मापदण्ड पालना भए÷नभएको विषयमा निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
यस घटनाले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र जनप्रतिनिधिको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ । सार्वजनिक विकास निर्माणमा नागरिकको निगरानी र सहभागिता सुनिश्चित गर्नुपर्ने बेला जनप्रतिनिधिबाटै असहज व्यवहार देखिनु चिन्ताजनक भएको स्थानीयको भनाइ छ ।
वडा अध्यक्ष ः विकास घिमिरे
यस विषयमा वडा अध्यक्ष विकास घिमिरेले भने आफूले आक्रोसमा आएर “तेरो के खाइदिएको छु” जस्ता भनेको स्वीकार गर्दै कुनै पनि नागरिकप्रति जानीजानी दुव्र्यवहार नगरेको दाबी गरेका छन् । उनले सडक विस्तार र स्थानीय बस्तीको सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
“त्यो दलितको घर जोगाउनु मेरो बाध्यता मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो । त्यहाँ बसोबास गर्ने मानिसहरूको सुरक्षा र अधिकारलाई ध्यानमा राख्दै निर्णय लिनु आवश्यक थियो,” उनले भने ।
सहकारी सम्बन्धी आरोपबारे उनले आफ्नो संलग्नता नरहेको दाबी गर्दै भने, “हाम्रो कृषि सहकारी संस्था लि. सँग मेरो कुनै सरोकार छैन । म त्यसको सदस्य पनि होइन । यसको नेतृत्व मेरी श्रीमतीले गर्नुभएको हो, त्यसबारे उहाँलाई नै जानकारी हुन्छ ।”
उनका अनुसार उक्त सहकारीमा केही समय समस्या देखिए पनि हाल करिब ६०–७० प्रतिशत समस्या समाधान भइसकेको छ ।
यद्यपि, स्थानीयले भने घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।




