सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १२ राजनीतिक दल र २९ स्वतन्त्र उम्मेदवार गरी कुल ४१ जनाले मनोनयन दर्ता गराएका छन्।

स्थानीय राजनीतिक समीकरण, अघिल्ला निर्वाचन परिणाम र संगठनात्मक प्रभावका आधारमा मुख्य प्रतिस्पर्धा प्रमुख दलहरूबीच हुने आँकलन गरिएको छ। नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादव, नेकपा (एमाले) का निवर्तमान सांसद लीलानाथ श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिश्वनाथ साह, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. शम्भु कुमार यादव, जनता समाजवादी पार्टीका अशेश्वर यादव र उज्यालो नेपाल पार्टीका श्रवण पासवान प्रमुख प्रतिस्पर्धीका रूपमा अघि आएका छन्।

२०७४ सालको निर्वाचनमा एमालेका श्रेष्ठ २३ हजार २७२ मतसहित विजयी भएका थिए। २०७९ सालमा पनि उनले २८ हजार ६४ मत ल्याउँदै पुनः जित दोहोर्‍याएका थिए। त्यसबेला नेकपा (माओवादी केन्द्र), कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सम्मिलित गठबन्धनबाट उम्मेदवार बनेका विश्वनाथ साहले २६ हजार ६८२ मत प्राप्त गरेका थिए।

यसपटक राजनीतिक समीकरणमा परिवर्तन देखिएको छ। एमालेभित्रको आन्तरिक असन्तुलनको अवस्था तथा नयाँ दलहरूको सक्रियताले प्रतिस्पर्धा रोचक बनेको विश्लेषण गरिएको छ। कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र जसपाले आफ्नो परम्परागत मताधार विस्तार गर्ने रणनीति अपनाएका छन् भने रास्वपा र उज्यालो नेपाल पार्टीले युवा मतदातामाझ सक्रियता बढाएका छन्।

२०७९ को समानुपातिक मतपरिणाम अनुसार कांग्रेसले १६ हजार, एमालेले १५ हजार ५९८, जनमतले १० हजार १७७, माओवादीले ८ हजार ४८५, जसपाले ७ हजार ९६० मत प्राप्त गरेका थिए।

सिरहा–३ अन्तर्गत ४१ वडा समेटिएका छन्। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा १ लाख १९ हजार २५० मतदाता रहेका छन् भने १३६ मतदान केन्द्र तोकिएका छन्।

विश्लेषकहरूका अनुसार परम्परागत दलहरूले मत जोगाउन सके अग्रता लिन सक्ने सम्भावना छ। नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले अपेक्षाअनुसार मत विस्तार गर्न सके मात्र चुनावी समीकरणमा परिवर्तन आउन सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय