सिरहा । सिरहा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। गोलबजार नगरपालिकाका सयभन्दा बढी युवा तथा व्यवसायीले विभिन्न राजनीतिक दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
गोलबजार–४ र ८ मा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको हो।

पार्टी प्रवेश गर्नेहरूमा गोलबजार उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राकेश कुमार गुप्ता, वाणिज्य संघका सचिव विरेन्द्र सिंह, पुस्तक व्यवसायी संघका जिल्ला अध्यक्ष धर्मलाल महतो लगायत रहेका छन्।

त्यसैगरी जिल्ला उद्योग वाणिज्य संघका सदस्य दीपक नायक, बजाज सोरुम सञ्चालक राजु गुप्ता, फर्निचर व्यवसायी प्रमेश्वर साह (पिके), व्यवसायी शंकर बिहारी साह र पवन गुप्तासहित अन्य नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेको जनाइएको छ।
उनीहरूलाई रास्वपाका मधेश प्रदेश सभापति तथा सिरहा–४ का उम्मेदवार तपेश्वर यादव र सिरहा–३ का उम्मेदवार शम्भु यादवले स्वागत गरेका थिए।
कार्यक्रममा नेताहरूले युवा तथा व्यवसायीहरूको सहभागितालाई “परिवर्तनको संकेत” भएको बताएका छन्।

यसैबीच, प्रवेश गर्ने अधिकांश व्यक्तिहरू नेकपा उम्मेदवार विश्वनाथ साह निकट मानिने व्यक्तिहरू रहेको चर्चा छ। यस घटनाले सिरहा–३ को चुनावी समीकरणमा प्रभाव पार्न सक्ने राजनीतिक वृत्तमा आकलन गरिएको छ।
रास्वपाले सामूहिक पार्टी प्रवेशलाई संगठन विस्तार र जनआधार सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा सिरहामा दलहरूबीचको प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।




