सिरहा। सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्गको छेउमा खेतमा काम गरिरहेका एक युवकको गोली प्रहारबाट मृत्यु भएको छ। शुक्रबार दिउँसो सिरहा नगरपालिका–१ निवासी ४० वर्षीय प्रेमनाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो।
प्रहरीका अनुसार यादव सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा रहेको आफ्नै खेतमा काम गर्न गएका बेला अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए। गोली यादवको छातीमा लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हाल घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मृतक यादव लामो समयदेखि खेती–किसानी गर्दै आएका स्थानीय किसान थिए। दिनदहाडै भएको यो गोली प्रहारको घटनाले स्थानीयवासीहरू त्रसित बनेका छन्। घटनापछि आसपासको क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालका अनुसार हत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन। “घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ,” उनले बताए।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



