सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लामा कूल चार लाख ५३ हजार ६४५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र अन्य २ मतदाता छन् भने जिल्लाभरबाट १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सिरहा क्षेत्र नम्बर १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ गरी एक लाख ११ हजार ९४९मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १४ जना र स्वतन्त्रबाट १८ जना गरी कूल ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये महिलाको संख्या दुई जना मात्र उम्मेदवार रहेका छन् ।

सिरहा क्षेत्र नम्बर २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र अन्य २ गरी एक लाख १५ हजार ७६० मतदाता छन् । यस क्षेत्रमा १४ जना विभिन्न राजनीतिक दलबाट र १५ स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ महिला उम्मेदवारको संख्या तिन जना मात्र रहेको छ ।
त्यसैगरी सिरहा क्षेत्र नम्बर ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी एक लाख १९ हजार २५० मतदाता रहेका छन् । यस क्षेत्रमा १२ जना विभिन्न राजनीतिक दलबाट र २९ स्वतन्त्र गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ महिला उम्मेदवारको संख्या दुई जना मात्र रहेको छ ।
त्यसैगरी सिरहा क्षेत्र नम्बर ४ मा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिला गरी एक लाख ६ हजार ६८६ मतदाता रहेका छन् । यस क्षेत्रमा १३ जना विभिन्न दलबाट र २३ स्वतन्त्र गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएकाछन् । यहाँ महिला उम्मेदवारीको एक जना मात्रै रहेको छ ।
सिरहाका चारवटै निर्वाचन क्षेत्रमा जम्मा ५३१ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको कार्यालयको भनाइ छ ।



