सिरहा । आज माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्वका रूपमा देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिँदै छ । प्रत्येक वर्ष यही तिथिमा सरस्वती पूजाका माध्यमबाट विद्या, बुद्धि र ज्ञान प्राप्तिको कामना गर्दै यो पर्व श्रद्धापूर्वक मनाइन्छ ।
ऋतुहरूको राजा वसन्तको आगमनको संकेत दिने दिन भएकाले श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतुको स्वागतस्वरूप आजको दिन वसन्तराग गाउने परम्परा रहँदै आएको छ । यसै अवसरमा राष्ट्राध्यक्षले वसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा पनि रहेको छ ।
पौराणिक कथाअनुसार ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ–आठ दिनसम्म भेट गरेकाले जम्मा ४० दिनअघि नै वसन्त पञ्चमी मनाउन थालिएको जनविश्वास छ । यही कारण वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअगावै माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी मनाइँदै आएको मानिन्छ ।

सरस्वती पूजामा नैवेद्यका रूपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल र अदुवा अर्पण गरिन्छ । सेतो रङ सरस्वतीको प्रिय मानिने भएकाले आजका दिन सेतो वस्त्र, सेतो फूल, चन्दन र शङ्ख चढाउने प्रचलन छ ।
पूजापछि देवी सरस्वतीको ध्यान गर्दै ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप र सरस्वती कवच पाठ गरिन्छ । यो मन्त्र विद्या, बुद्धि र सौभाग्य प्रदान गर्ने विश्वास रहँदै आएको छ ।
संगीत, कला, साहित्य र विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरेमा अध्ययनमा सफलता प्राप्त हुने धार्मिक विश्वास छ । आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा पनि रहेको छ ।
सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा र धीश्वरी नामले समेत सम्बोधन गरिन्छ । विशेषगरी शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूले यो पर्व विशेष उत्साहका साथ मनाउने गरेका छन् ।



